Odapalika - The Fourth Estate - चौथो अंग
बालेनलाई प्रधानमन्त्री बनाउने गरी चुनावी तालमेल गर्न प्रचण्ड तयार

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) राजनीतिको केन्द्रमा पुगेका छन् । 

भदौ २३ र २४ को जेनजी आन्दोलनसँगै पुनः चर्चाको शिखरमा रहेका बालेन शुशीला कार्कीको नेतृत्वमा गठन भएको चुनावी सरकारसँग विमती सार्वजनिक भएपछि केही समय चर्चा बाहिर थिए । तर, फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको मितिसँग बालेनले सक्रियता बढाएर राजनीतिको केन्द्रमा पुगेका हुन् ।

पछिल्लो साता मेयर बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, उर्जामन्त्री कुलमान घिसिङ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, निवर्तमान सांसदहरु ज्ञानेन्द्र शाही, डा. चन्द्र भण्डारी, डा. सुनिल शर्मा, डा. अमरेश कुमार सिंहलगायतसँग राजनीतिक संवादमा छन् ।

प्रतिनिधिसभाको आगामी निर्वाचनको लागि नयाँ पार्टी तयार पार्ने र देशभरका सबै क्षेत्रमा उम्मेदवार उठाउने गरी बालेनले तयारी थालेका छन् । समानुपातिक तर्फको उम्मेदवारको सुची निर्वाचन आयोगमा बुझाउने समय नजिकिदै गर्दा बालेनको सक्रियता बढेको हो । पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको नामावली बुझाउनु पर्नेछ ।

पछिल्लो अपडेट अनुसार रवि, बालेन र कुलमानको पार्टी एउटै चुनाव चिन्हबाट आगामी निर्वाचनमा जानेगरी गृहकार्य गरिरहेका छन् । यो समुहमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई पनि समेट्ने प्रयास भइरहेको छ । अन्य समुह र सामाजिक प्रतिष्ठा कमाएका व्यक्तिहरुलाई पनि यसमा समेटेर अघि बढ्न बालेन, रवि लामिछाने र कुलमान घिसिङ तयार छन् ।

तर, निर्वाचनपछिको सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने यी तीन नेताबीच फरक धारणा छन् । स्रोतका अनुसार रवि लामिछानेमाथि चलेको सहकारी ठगीको मुद्दालाई राजनीतिक प्रतिशोधको रुपमा लगाइएको मुद्दाको रुपमा स्थापित गरेर आगामी प्रधानमन्त्रीको रुपमा लामिछानेलाई नै अघि सार्ने गरी सहमति गर्ने प्रयास गरिरहेको छ । तर, मेयर बालेन भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले आफूलाई नेता स्वीकार गरेकोले आगामी प्रधानमन्त्री आफू हुनेगरी निर्वाचनमा जाने प्रयासमा छन् । यस्तै, उर्जामन्त्री कुलमान घिसिङ पनि अबको प्रधानमन्त्री आफू हुने गरी निर्वाचनमा जाँदा बहुमत आउने भएकोले त्यसो गर्नुपर्ने अडानमा छन् । कुलमानको उज्यालो नेपाल पार्टी छ भने बालेनको देश विकास पार्टी छ ।

नयाँ शक्तिहरुबीच अबको प्रधानमन्त्री को हुने भन्नेमा विवाद कायमै रहेको समयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावी तालमेलमा जान आफू र आफ्नो दल तयार रहेको सन्देश बालेनसम्म पुर्याएका छन् । स्रोतले दिएको जानकारी अनुसार संयोजक दाहालले रास्वपा सभापति लामिछानेसँग भेटेरै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावी समीकरण बनाउन आफू तयार रहेको प्रस्ताव गरेका छन् । तर, बालेनले चुनावी तालमेलका विषयमा छलफल गर्ने समय बाँकी रहेको भन्दै पहिला समानुपातिक तर्फका उम्मेदवारको बन्दसुची बुझाउने कार्यमा ध्यान दिनुपर्ने बताएर प्रचण्डको प्रस्तावलाई होल्ड गरेका छन् ।

‘बालेन, रवि र कुलमानबीचको विषय टुंगिएपछि नेकपासँगको विषयमा छलफल हुन्छ । उहाँहरुले नयाँ प्रधानमन्त्रीको लागि जसको नाममा सहमति गरेपनि हामीलाई आपत्ति छैन । तर, बालेनलाई प्रधानमन्त्रीको रुपमा अघि बढाउँदा जनतामा सबैभन्दा बढी सकारात्मक सन्देश जान्छ भन्ने हाम्रो कुरा हो,’ नेकपा स्रोतले वडापालिकासँग भन्यो ।

तर, नेकपा भने नयाँ शक्तिहरुसँग चुनावी तालमेल गरेर मात्रै जाने सोचमा छ । आफ्नै चुनाव चिन्हमा चुनाव लड्ने सिट बाँडफाँड गर्ने मोडालिटीमा बालेन र रविसँग छलफल चलिरहेको नेकपाका नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update