रत्ननगर नगरपालिकाका मेयर सापकोटाको असल कामः तलब–भत्ताबाट विपन्नको स्वास्थ्य बिमा

 

चितवन । रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटाले आफ्नो सेवा सुविधाबाट प्राप्त गर्ने रकमबाट  ३७ परिवारको स्वास्थ्य बिमा गरिदिएका छन् ।

उनले वडा कार्यालयहरूको सिफारिसका आधारमा छनोट भएका ती अतिविपन्न तथा गरिब परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएका हुन् । ती परिवारहरूको बिमा शुल्क मेयर सापकोटाले आफ्नो पछिल्लो तीन महिनाको तलब–भत्ताबाट व्यहोरेको जानकारी दिए ।

प्रमुख सापकोटाले यसअघि पनि तलब–भत्ता र मायाको चिनोबापतको रकमबाट २०० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिसकेका छन् । मेयर सापकोटाका अनुसार वार्षिक रूपमा करिब तीन हजार ५०० परिवारलाई स्वास्थ्य बिमामा समेट्न कार्यक्रम सञ्चालन गरिएको थियो । तर, उक्त कार्यक्रम ‘जेनजी आन्दोलन’पछि रोकिएको छ ।

नगरपालिकाले फजुल खर्च कटौती गर्ने उद्देश्यले औपचारिक कार्यक्रममा खादा तथा मायाको चिनो नलिने नीतिगत निर्णय गरेको छ । सोही निर्णयअनुसार विभिन्न सङ्घ–संस्थाले प्रदान गर्न चाहेको मायाको चिनो बराबरको रकम स्वास्थ्य शाखाको कोषमा जम्मा गरिँदै आएको छ । 

उक्त रकमसमेत निःशुल्क स्वास्थ्य बिमा तथा अन्य सामाजिक काममा परिचालन गरिने गरिएको छ । यसअघि मेयर सापकोटाले आफ्नो तीन महिनाको तलबबाट रत्ननगर–१२ स्थित एक आधारभूत विद्यालयका विद्यार्थीलाई कापी–कलम तथा ट्र्याकसुट वितरण गरेका थिए ।

‘निःशुल्क स्वास्थ्य र शिक्षा जनताको नैसर्गिक अधिकार हो । राज्यले सबैलाई यो सेवा निःशुल्क उपलब्ध गराउनुपर्छ । आगामी आर्थिक वर्षको बजेटमा विपन्न वर्गका लागि थप प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रम समेट्ने हाम्रो लक्ष्य छ,’ उनले भने ।

मेयर सापकोटाले १०० भन्दा बढी विद्यार्थीलाई व्यक्तिगत रूपमा छात्रवृत्ति पनि प्रदान गर्दै आएका छन् । 

नगर प्रमुख सापकोटाका अनुसार विपन्न नागरिकले रत्ननगर बकुलहर अस्पतालबाट स्वास्थ्य बिमाको लाभ लिन सक्नेछन् । उपचारमा समस्या हुने नागरिकका लागि रु ३० लाख ‘स्वास्थ्य उपचार अक्षयकोष’ स्थापना गरिएको छ । 

साथै भरतपुर अस्पतालमा विपन्न उपचार कोष, क्यान्सर अस्पताल चितवनमा थप रु २५ हजार उपचार सहयोग तथा रत्ननगर–२ मा निःशुल्क ब्लड बैंक सेवा सञ्चालनमा रहेको पालिकाले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  १२:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update