रत्ननगर नगरपालिकाले दियो समस्याग्रस्त सहकारीका बचतकर्तालाई अनलाइन दाबीको अन्तिम मौका

 

काठमाडौँ । चितवन जिल्लाको रत्ननगर नगरपालिकाले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्तालाई आफ्नो बचत रकम फिर्ता मागदाबी गर्न अन्तिम पटक अनलाइन दाबी पेस गर्ने अवसर दिएको छ।

नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत प्रकाश खनालले  यसअघि मागदाबी गर्न छुट भएका बचतकर्ताका लागि अन्तिम पटक अनलाइन दाबी पेस गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार समस्याग्रस्त व्यवस्थापन समितिले व्यवस्थापन गरिरहेका सहकारीमा बचत गरेका तर यसअघि मागदाबी गर्न छुट भएका बचतकर्ताले २०८३ साल भदौ १५ गतेदेखि ३ महिनाभित्र अनलाइनमार्फत आफ्नो दाबी पेस गर्नुपर्नेछ।

यसको लागि नगरपालिकाले सार्वजनिक सुचना पनि प्रकाशन गरेको छ । सूचनामा रत्ननगर क्षेत्रमा सञ्चालनमा रहेका सहारा बचत तथा ऋण सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लगायतका सहकारी संस्थाका बचतकर्ताहरूलाई दाबी पेस गर्न आग्रह गरिएको छ।

बचतकर्ताले अनलाइन दाबीका लागि नगरपालिकाले तोकेको वेबसाइट प्रयोग गर्नुपर्नेछ। तोकिएको अवधिभित्र सम्बन्धित सहकारीमा गरेको बचतको विवरणसहित मागदाबी पेस गर्न नगरपालिकाले आग्रह गरेको छ।

नगरपालिकाले यसलाई अन्तिम पटक अनलाइन मागदाबी गर्ने अवसर भएकाले यसअघि छुटेका बचतकर्तालाई तोकिएको समयभित्रै प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।

समस्याग्रस्त सहकारीको व्यवस्थापन तथा बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियामा पछिल्लो समय स्थानीय तहले सक्रियता बढाइरहेका बेला रत्ननगर नगरपालिकाको यो सूचनाले लामो समयदेखि बचत फिर्ताको पर्खाइमा रहेका बचतकर्तालाई पुनः दाबी गर्ने बाटो खुला गरेको छ।

 

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update