इच्छामनकामना प्रमुख प्रशासकीय अधिकृतमाथिको आक्रमणप्रति रत्ननगर नगरपालिकाका कर्मचारीको सामुहिक विरोध

काठमाडौँ । इच्छामनकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलाई कार्यकक्षमै भएको आक्रमणप्रति रत्ननगर नगरपालिकाका कर्मचारीहरुले सामुहिक विरोध गरेका छन् । 

कर्मचारीहरुले आज एक विज्ञप्ति जारी गरी सार्वजनिक प्रशासनमा कार्यरत राष्ट्रसेवक कर्मचारीले कानुनबमोजिम आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा कुनै पनि प्रकारको हिंसा, दुर्व्यवहार, आक्रमण वा धम्की लोकतान्त्रिक मूल्य, विधिको शासन तथा सुशासनको मर्मविपरीत कार्य हो भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

‘यस्ता घटनाले कर्मचारीहरूको मनोवल घटाउनुका साथै सार्वजनिक सेवा प्रवाहमा समेत प्रतिकूल असर पार्ने भएकाले यस्ता अमानवीय र गैरकानुनी गतिविधि कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैनन्,’ कर्मचारीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

असार १८ गते इच्छाकामना गाउँपालिका कुरिनटार चितवनका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि आफ्नै कार्यकक्षमा रही सार्वजनिक सेवा प्रवाह गरिरहेको अवस्थामा साङ्घातिक आक्रमण तथा कुटपिट भएको थियो ।

‘घटनामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछौं । साथै, सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूको कार्यस्थलमा सुरक्षा, सम्मान तथा निर्भय वातावरण सुनिश्चित गरी सार्वजनिक सेवा प्रवाहमा अवरोध पुग्ने यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सम्बन्धित निकायसमक्ष प्रभावकारी सुरक्षा व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं,’ रत्ननगर नगरपालिकाका कर्मचारीहरुले भनेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update