काठमाडौं । काठमाडौँ जिल्लामा पर्ने टोखा नगरपालिकाले एउटा अनौठो कार्यक्रम संचालन गरेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षदेखि संचालन गरेको कार्यक्रम हो– बच्चाको खातामा ५ हजार कार्यक्रम । यो कार्यक्रम अनुसार नगरबासीले आफ्नो बच्चा जन्मिएपछि जन्मदर्ताको साथमा बैंकमा खाता खोलेर खाता नम्बर दिएपछि नगरपालिको स्वतः ५ हजार रुपैयाँ जम्मा गरिदिन्छ ।
अर्थात बच्चा जन्मने वित्तिकै बैंक खाता खोलेपछि नगरपालिकाले प्रतिबच्चा ५ हजार रुपैयाँ दिन्छ ।
तर, अचम्मको कुरा के छ भने यस्तो कार्यक्रममा जनसहभागिता अत्यन्तै न्यून छ । अर्थात टोखा नगरबासी नगरपालिकाले सित्तैमा दिने पैसा लिन जानै चाहदैनन् ।
चालु आर्थिक वर्ष सकिन लागेपनि अहिलेसम्म ३ जनाले मात्रै रकम लिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले जानकारी दिए ।
‘बच्चाको खातामा ५ हजार कार्यक्रम यसै आर्थिक वर्षदेखि सुरु भएको कार्यक्रम हो । तर, अहिलेसम्म जम्मा ३ जना बच्चाको नाममा मात्रै रकम गएको छ,’ शाखा प्रमुख कुलालले वडापालिकासँग भने ।
यो कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । एउटा बच्चाको लागि ५ हजार रुपैयाँ दिने गरिएका कारण अहिलेसम्म खर्च भने जम्मा १५ हजार रुपैयाँ मात्रै भएको छ ।
नगरपालिकाले बनाएको कार्यविधि अनुसार नेपाल सरकारले तोकेको बर्थिङ सेन्टरमा बच्चा जन्माउनेले मात्रै यस्तो सुविधा पाउँछन् । नेपाल सरकारले तोकेको बर्थिङ सेन्टरमा बच्चा जन्मेपछि बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउनुपर्ने र त्यसपछि जुनसुकै बैंकमा खाता खोलेपनि खाता नम्बर उपलब्ध गराएपछि नगरपालिकाले सो खातामा रकम हालिने व्यवस्था छ । बैंक खाता भने बच्चाकै नाममा खोल्नुपर्ने नगरपालिकाले जानकारी दिएको छ । टोखा चन्डेश्वर, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, वीर अस्पताललगायतलाई नेपाल सरकारले बर्थिङ सेन्टर घोषणा गरेको छ ।
तर, अधिकांश टोखा नगरबासी सरकारले तोकेको बर्थिङ सेन्टरबाहेकका अस्पतालमा प्रसुती गराउँदा नगरपालिकाले दिने यो सुविधाबाट बन्चित भइरहेका छन् । बच्चाको नाममा खोलिएको बैंक खातामा नगरपालिकाले मुद्दति निक्षेपमा रकम राख्ने गरेको छ । यस्तो रकम सम्बन्धित बच्चा १८ वर्षको भएपछि मात्रै निकाल्न मिल्ने नगरपालिकाको भनाइ छ । अहिले नगरपालिकाले जम्मा गरिदिएको ५ हजार रुपैयाँ १८ वर्षपछि मोटो रकम हुने र त्यसले कुनै कार्य गर्नको लागि रकमको जोहो हुने नगरपालिकाको विश्वास छ ।






