काठमाडौं । काठमाडौँको टोखा नगरपालिकाले गोरखाको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीलाई सम्मान गरेको छ ।
विश्व वातावरण दिवसको अवसरमा बिसीलाई सम्मान गरिएको हो । बिसीले प्रमुख कार्यकारी अधिकृतको पदमा रहेर टोखा नगरपालिकामा करिब ३० महिनाको कार्यकालको समयमा नेतृत्व गरेको नदी संरक्षण तथा सरसफाइ अभियानले १०० हप्ता पूरा गरेको अवसरमा आयोजित विशेष समारोहमा सम्मान गरिएको हो।
बिसीले उक्त अभियान टोखा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहँदा प्रारम्भ गरेका थिए।
सम्मान ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत बिसीले प्राप्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा सामूहिक प्रयासको प्रतिफलका रूपमा व्याख्या गरे।
‘यो सम्मान मेरो मात्र नभई सम्पूर्ण टोली र टोखा नगरवासीको साझा मेहनतको परिणाम हो। यसले मलाई अझ बढी जिम्मेवार र प्रतिबद्ध भएर काम गर्न प्रेरित गरेको छ,’ उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत बिसीले नदी तथा सरसफाइ अभियानको निरन्तरतामा जोड दिँदै जनसहभागितामूलक अभियानहरू नै वातावरण संरक्षणका लागि प्रभावकारी माध्यम हुने बताए। टोखामा सुरु गरिएको यो अभियान जनसहभागितामा आधारित सफल अभ्यास हो भन्दै उनले यसको निरन्तरता रहन सके मात्रै वातावरणीय सुधार दिगो बन्न सक्ने बताए ।
कार्यक्रमका क्रममा टोखा नगरपालिका र पालुङटार नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा समेत छलफल भएको थियो। दुवै स्थानीय तहबीच आपसी सहकार्य, अनुभव आदान–प्रदान तथा विकास साझेदारी विस्तार गर्ने विषयमा प्रारम्भिक सहमति बनेको छ।
पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसीले टोखा नगरवासीलाई पालुङटार भ्रमणको निमन्त्रणा पनि गरे ।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले बिसीको योगदानको प्रशंसा गर्दै नदी तथा सरसफाइ अभियानलाई टोखाको ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गरे।
‘शेरबहादुर बिसीको कार्यकालमा सुरु भएको नदी तथा सरसफाइ अभियानले नगरको वातावरणीय व्यवस्थापनमा दीर्घकालीन सकारात्मक प्रभाव पारेको छ। उहाँको नेतृत्व र दूरदृष्टिले अभियानलाई सफल बनाएको हो,’ मेयर अधिकारीले भने ।
कार्यक्रममा पालुङटारका मेयर विवस चिन्तनले पठाएको औपचारिक पत्र टोखा नगरपालिकाका मेयर अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।





