काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यका साथ एकीकृत मेट्रिक ठेगाना प्रणालीको शुभारम्भ गरेको छ ।
मेयर प्रकाश अधिकारीले घर र सडक पहिचान गर्न सहज हुनेगरी तयार गरिएको ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को सोमबार शुभारम्भ गरेका हुन् ।
मेयर अधिकारीले टोखाले नगरपालिकालाई प्रविधिमैत्री नगरपालिकामा लैजानका लागि ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को सुरुआत गरेको जानकारी दिए । टोखा–९ बाट सुरु गरिएको उक्त प्रणालीलाई टोेखाका ११ वटै वडामा जडान गरिने मेयर अधिकारीको भनाइ छ ।
उक्त प्रणाली जडान गरेसँगै घर ठेगाना सहजै पत्ता लगाउनका साथै विपद्को समयमा एम्बुलेन्स, दमकललगायतका उपकरण पठाउन सहज हुने मेयर अधिकारीको भनाइ छ । उक्त प्रणालीले भौगोलिक स्थान र सडकको दूरीका आधारमा प्रत्येक घरलाई छुट्टै विशिष्ट पहिचान (घर नम्बर) प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका सूचना शाखा प्रमुख वसन्त पाठकले मेट्रिक ठेगाना प्रणालीमा सम्बन्धित सडकको सुरु विन्दुबाट घर कति दूरीमा छ, सोही आधारमा घरको ठेगाना निर्धारण गरिने बताए । यसले गर्दा अपरिचित व्यक्ति वा सेवा प्रदायकलाई कुनै पनि घर वा भवन सजिलै पत्ता लगाउन सहज हुनेछ ।
तीन वर्ष लगाएर गरिएको अध्ययनअनुसार टोखा नगरपालिकाभित्र २८ हजार ६४६ भवन, २६ हजार ६१६ घर र २९६ किलोमिटर सडक लम्बाइको नक्साङ्कन गरिएको छ । टोखामा २६ हजारभन्दा बढी घर भए पनि तत्कालका लागि १९ हजार घरमा उक्त प्रणाली लागू गरिने मेयर अधिकारीले बताए ।
उक्त प्रणाली जडान भएसँगै एम्बुलेन्स, दमकल र प्रहरीलाई सम्बन्धित घरसम्म समयमै पुग्न सजिलो हुने, नक्सापास, राजस्व सङ्कलन र विपद् व्यवस्थापन जस्ता सेवाहरूलाई एकीकृत गरी थप प्रभावकारी बनाउन सहज हुने बताइएको छ । यसैगरी, व्यवसायीका लागि आवश्यक तथ्याङ्क उपलब्ध हुनुका साथै सामान डेलिभरी गर्न सहज हुनेछ ।
टोखा नगरपालिका–९ का वडाध्यक्ष रामभक्त घिमिरेले टोखालाई आधुनिक र व्यवस्थित सहरको रूपमा स्थापित गर्नका लागि यस्ता प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसअघि भक्तपुरको सूर्यविनायक नगरपालिकाले पनि यस्तै मेट्रिक ठेगाना प्रणाली सुरु गरेको थियो । रासस






