निजामती सेवा विधेयकः कम्प्युटर अपरेटरलाई बढुवामा सधैको लागि लाग्यो प्रतिवन्ध

काठमाडौँ । संघीय सरकारले ल्याएको निजामती सेवा विधेयकले कम्प्युटर अपरेटर पदमा कार्यरत देशभरका ५ सयभन्दा बढी कर्मचारी अबदेखि कहिल्यै बढुवा हुन नसक्ने व्यवस्था गरिदिएको छ ।

विधेयकमा लोकसेवा आयोगको परीक्षा पास गरेर सरकारी सेवामा नियुक्त भएका कम्प्युटर अपरेटरलाई प्रशासन समुहबाट निकालेर प्राविधिक समुहमा राख्ने र प्राविधिक समुहको बढुवामा सम्बन्धित विषय अध्ययन अनिवार्य गरिएपछि उनीहरुको बढुवा सधैका लागि रोकिएको हो ।

लोकसेवा आयोगले यसअघि कम्तिमा प्लसटु पास गरेका र ६ महिने कम्प्युटर तालिम लिएको योग्यता भएकाहरुको लागि कम्प्युटर अपरेटर पदमा जागिर खुलाएको थियो । ती कम्प्युटर अपरेटरहरुलाई विविध सेवामा राखिएको थियो ।

तर, विविध सेवामा कार्यरत कम्प्युटर अपरेटरको बढुवामा समस्या भएपछि सर्वाेच्च अदालतमा रिट दायर भएको थियो । सर्वाेच्चका न्यायाधीशहरु जगदीश शर्मा पौडेल र दीपककुमार कार्कीको संयुक्त इजलासले २०७३ साल कात्तिक २ गते विविध सेवामा कार्यरत कम्प्युटर अपरेटरहरुलाई प्रशासन सेवाबाट बढुवा गर्न आदेश दिएको थियो । अदालतको सोही आदेश अनुसार विविध सेवामा कार्यरत कम्प्युटर अपरेटरहरु प्रशासन समुहबाट बढुवा हुँदै आएका थिए ।

तर, यसपालि अध्यादेश मार्फत ल्याउन लागिएको निजामती सेवा विधेयकमा विविध सेवामा कार्यरत कम्प्युटर अपरेटरलाई प्राविधिक सेवामा राखिएको छ । प्राविधिक सेवाको बढुवाको लागि सम्बन्धित विषय अध्ययन गरेको हुनुपर्ने भनिएको छ । विधेयकमा भएको यही व्यवस्थाको कारण कम्प्युटर अपरेटरको बढुवा रोकिने भएको हो ।

‘आवेदन खुलाएको समयमा कम्तिमा १२ वा सो सरह उतिर्ण गरी कम्तिमा ६ महिना कम्प्युटर तालिएको लिएको हुनुपर्ने मापदण्ड तोकेर विज्ञापन खुलाइएको थियो । यसअघि अदालतको आदेश र लोकसेवा आयोगको सिफारिसका आधारमा कम्प्युटर अपरेटरलाई प्रशासन समुहबाट बृत्ति विकासको अवसर प्रदान गरिएको थियो । अहिले भने प्राविधिक समुहमा राखिएको छ र यो समुहको बृत्ति विकासको लागि सोही विषयको अध्ययन अनिवार्य भनिएको छ । यसको सोझो अर्थ कम्प्युटर पदमा जागिर खाएका व्यक्तिहरुको अबदेखि बढुवा हुँदैन भन्ने हो । यो व्यवस्थाले हामीमाथि अन्याय हुन्छ,’ एक कम्प्युटर अपरेटरले वडापालिकासँग भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुई तिहाई मत ल्याएपछि सो पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेका छन् । बालेन प्रधानमन्त्री बनेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदा सार्वजनिक गरेको छ । सो मस्यौदामा छैटौं तहमा कार्यरत कम्प्युटर अपरेटरको सातौं तहमा बढुवा हुने बाटो छेकिएको छ । सो मस्यौदा निर्माणमा मन्त्रालयको प्रवक्ता समेत रहेका एकदेव अधिकारीको विशेष भूमिका रहेको बताइएको छ ।

यस्तो व्यवस्थाले हुँदै आएको व्यवस्था रोकेर कम्प्युटर अपरेटरहरु माथि अन्याय हुने निजामती सेवाका विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १४:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update