सूर्यविनायक २ मा नि:शुल्क कौशी खेती तालिम हुने

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं‌. २ कार्यालयले स्थानीय बासिन्दाहरूका लागि नि:शुल्क कौशी खेती सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ। चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत वडाले यस प्रकारको स्वरोजगारमूलक तालिमको आयोजना गर्न लागेको हो।

वडा कार्यालयद्वारा प्रकाशित सूचना अनुसार वडा नं. २ (बालकोट) मा स्थायी बसोबास गर्ने इच्छुक महिला तथा पुरुष दुवैले यस तालिममा सहभागिताका लागि आवेदन दिन सक्नेछन्। सहरी क्षेत्रमा बढ्दो आधुनिक जीवनशैलीसँगै घरको कौशी तथा बरण्डामै प्राङ्गारिक तरकारी उत्पादन गरी आत्मनिर्भर बन्न सघाउने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको वडा कार्यालयले जनाएको छ।

कसरी दिने आवेदन 

तालिम लिन इच्छुक महानुभावहरूले आवश्यक कागजातसहित यो सूचना प्रकाशित भएको मितिले एक हप्ताभित्र वडा कार्यालयमा गइ रीतपूर्वक निवेदन दर्ता गराउनु पर्नेछ। साथै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति र सूर्यविनायक नगरपालिका वडा नं. २ मा स्थायी बसोबास भएको प्रमाणपत्र – १ प्रति पेश गर्नुपर्ने जनाएकाे छ । 

अघिल्ला सहभागीलाई प्राथमिकता नहुने

वडा कार्यालयका अनुसार तालिमलाई थप प्रभावकारी बनाउन र नयाँ व्यक्तिहरूलाई अवसर प्रदान गर्नका लागि विगतका वर्षहरूमा यसै वडाबाट कौशी खेती सम्बन्धी तालिम लिइसकेका व्यक्तिहरूलाई यस पटक सहभागी गराइने छैन।

थप जानकारी तथा आवेदन फारमका लागि बालकोटस्थित सूर्यविनायक नगरपालिका वडा नं. २ को कार्यालय वा वडाको आधिकारिक सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने वडाध्यक्ष प्रदिप कार्कीले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १५:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update