काठमाडौँ । एनआईसी एशिया बैंकले पर्वतको मोदी गाउँपालिकामा पर्ने जननेत्र माविलाई शैक्षिक र खेलकुद सामग्री प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो विद्यालयका विद्यार्थीको पठनपाठन तथा खेलकुद गतिविधिलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ शैक्षिक र खेलकुद सामग्री प्रदान गरेको हो ।
हाल १९१ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा असार १२ गते एक कार्यक्रमका बीच बैंकका चिफ मार्केटिङ्ग अफिसर दिपेन्द्र शर्मा र पोखरा सर्कल हेड श्वेता शेरचनले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र शर्मा र विद्यालयका प्रधानाध्यापक दिपक शर्मालाई संयुक्त रुपमा शैक्षिक र खेलकुद सामग्री प्रदान गरेका हुन् ।
शैक्षिक सामग्रीहरुमा झोला, पेन्सिल, कपी, पेनलगायत र खेलकुद सामग्रीहरुमा फुटबल, भलिबल, भलिबल नेट, ब्याडमिन्टन, स्किपिङ, सट पुट बल, जेवलिन थ्रोलगायतका सामग्रीहरु रहेका बैंकले जानकारी दिएको छ । कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिकाहरु, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनसँगै खेलकुद गतिविधिमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।





