काठमाडौँ । ओखलढुंगाको लिखु गाउँपालिकाले असोज मसान्तभित्रमा व्यवसाय तथा संस्था नवीकरण गरिसक्न आग्रह गरेको छ ।
व्यक्तिगत व्यवसाय दर्ता ऐनमा कुनै पनि उद्यम व्यवसाय वा संस्था दर्ता नगरी चलाउन नपाइने र दर्ता भएका व्यवसाय तथा संस्था प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्रमा नवीकरण गरिसक्नु पर्ने भएकाले सरोकारवालाई सुचना प्रकाशन गरी जानकारी गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन कुमार राउतले जानकारी दिए ।
साउन ७ गते सार्वजनिक सुचना नै प्रकाशन गरेर दर्ता र नवीकरण गर्नको लागि जानकारी गराइएको गाउँपालिकाले जानकारी दिएको छ ।
सुचनामा लिखु गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण साना/ठूला पसल, फर्म, कम्पनी, लघु उद्यम दर्ता तथा नवीकरण गरिसक्न भनिएको छ ।
के–के चाहिन्छ कागजात ?
व्यवसाय दर्ता तथा नवीकरणको लागि चाहिने कागजातको सुची पनि गाउँपालिकाले सार्वजनिक गरेको छ । जसमा तोकिएको ढाँचामा निवेदन, संस्थाको हकमा लेटर प्याडमा रीतपूर्वकको निवेदन आवश्यक पर्छ । यस्तै, व्यवसाय दर्ता प्रमाण पत्रको सक्कल प्रति, वडा कार्यालयको सिफारिस, संस्था/निर्माण व्यवसायीको हकमा अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी, अडिट रिपोर्ट, संस्थाको हकमा नवीकरण गर्ने व्यहोराको माइनुट पनि आवश्यक पर्ने गाउँपालिकाले जानकारी दिएको छ ।




