लिखु गाउँपालिकाले क्यान्टिन सञ्चालनका लागि माग्यो दरभाउ, भाडा मासिक १० हजार

 

काठमाडौँ । ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालय परिसरमा क्यान्टिन ९चमेना गृह० सञ्चालनका लागि इच्छुक संस्था, फर्म तथा व्यवसायीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरेको छ।

क्यान्टिन सञ्चालनका लागि मासिक न्यूनतम भाडा १० हजार रुपैयाँ तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन कुमार राउतले जानकारी दिए । यसको लागि गाउँपालिकाले साउन ३१ गते सार्वजनिक सुचना नै प्रकाशन गरेको छ । क्यान्टिन सञ्चालन गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले १५औँ दिन बिहान साढे १० बजेसम्म कार्यालय समयमा दरभाउपत्र खरिद गर्न सक्नेछन्। दरभाउपत्र दर्ता भने सोही दिन दिउँसो १२ बजेसम्म गर्नुपर्ने व्यवस्था गरिएको छ।

दरभाउपत्र खरिदका लागि एक हजार रुपैयाँ दस्तुर तोकिएको छ। सिलबन्दी दरभाउपत्रसँग सञ्चालकको नेपाली नागरिकताको प्रमाणपत्र, फर्ममा दर्ता भएको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, सम्बन्धित प्रकृतिको व्यवसाय दर्ता प्रमाणपत्र तथा कार्यालयबाट खरिद गरिएको दरभाउपत्र फाराम भरिएको र सहीछाप गरिएको प्रति संलग्न गर्नुपर्नेछ।

गाउँपालिकाले क्यान्टिन सञ्चालनका लागि सामान्य पूर्वाधार तथा फर्निचर उपलब्ध गराउने जनाएको छ। अन्य आवश्यक सामग्रीको व्यवस्था भने व्यवसायी स्वयंले गर्नुपर्नेछ।

सूचनामा क्यान्टिनभित्र धूम्रपान तथा मदिराजन्य वस्तुको बिक्री–वितरण गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ। कार्यालयले तोकेको समयमा मात्र क्यान्टिन सञ्चालन गर्नुपर्ने तथा स्वीकृत मापदण्डअनुसार खाद्य सामग्री र सेवा उपलब्ध गराउनुपर्नेछ।

दरभाउपत्र मूल्यांकन गर्दा प्रति एकाइ दरको न्यूनतम कबोल रकमलाई आधार मानिने गाउँपालिकाले जनाएको छ। सबैभन्दा न्यूनतम कबोल गर्ने व्यवसायीले ५० हजार रुपैयाँ कार्यसम्पादन जमानत राखेपछि मात्र सम्झौता गर्न पाउने व्यवस्था गरिएको छ। सम्झौताको अवधि एक वर्ष रहनेछ।

क्यान्टिन सञ्चालनका लागि स्वीकृत फर्म, संस्था तथा व्यवसायी प्यानमा दर्ता भएको हुनुपर्ने पनि सूचनामा उल्लेख छ। सम्झौताअनुसारको गुणस्तर कायम नगरेमा वा सेवा प्रवाहमा कमजोरी देखिएमा गाउँपालिकाले कार्यसम्पादन जमानत जफत गरी सम्झौता रद्द गर्न सक्ने चेतावनीसमेत दिएको छ।

त्यस्तै, क्यान्टिन सञ्चालन गरेपछि प्रत्येक तीन महिनाको बहाल रकम अनिवार्य रूपमा गाउँपालिकामा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। विशेष कारणले क्यान्टिन बन्द गर्नुपर्ने भए सम्बन्धित पक्षले एक महिनाअघि गाउँपालिकालाई जानकारी गराउनुपर्नेछ।

गाउँपालिकाले दरभाउपत्र पूर्ण वा आंशिक रूपमा स्वीकृत वा अस्वीकृत गर्ने अधिकार आफूमा रहने जनाएको छ। दरभाउसम्बन्धी थप जानकारी गाउँपालिकाको कार्यालय वा गाउँपालिकाको वेबसाइटमार्फत लिन सकिने सूचनामा उल्लेख गरिएको छ।

 

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update