गोसाइँकुण्ड गाउँपालिकामा भदौ २६  देखि विद्यालयहरू पुनः सञ्चालनमा आउने

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोपछि बन्द रहेका रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका विद्यालयहरू भोलि, भदौ २६ गतेदेखि पुनः सञ्चालन हुने भएका छन्।

गत भदौ १० गते चीनको तिब्बतबाट रसुवागढी नाका हुँदै भोटेकोशी नदीमा आएको बाढी पहिरोका कारण सुरक्षालाई ध्यानमा राख्दै गाउँपालिकाभरिका विद्यालयहरूको पठनपाठन स्थगित गरिएको थियो। 

बाढीले भौतिक तथा जनधनको ठूलो क्षति पुर्‍याए पनि जनजीवनलाई सामान्य बनाउँदै विद्यार्थीहरूको पढाइ सुचारु गर्न गाउँपालिकाले विद्यालय पुनः खोल्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईले जानकारी दिए ।

सो गाउँपालिकाका रसुवा माध्यमिक विद्यालय, रसुवा, भिमसेन आधारभूत विद्यालय, ठूलो भार्खु, भिमली आधारभूत विद्यालय, भिमली, बोकेझुण्डा आधारभूत विद्यालय, बोकेझुण्डा, सरस्वती आधारभूत विद्यालय, ठाँडे र नेपाल राष्ट्रिय आधारभूत विद्यालय, ठूलो स्याफ्रु भदौ २८ गतेदेखि संचालन गर्ने निर्णय गाउँपालिकाले गरेको हो ।

यस्तै, हाईल्याण्ड आवासीय माध्यमिक विद्यालय, धुन्चे र नमुना एभरग्रिन आवासीय विद्यालय, धुन्चे गरी २ वटा संस्थागत (बोर्डिङ स्कुल) पनि भदौ २६ गतेदेखि संचालन हुनेछन् ।

गाउँपालिकाभित्रका अन्य विद्यालयहरूको हकमा भने स्थानीय भौगोलिक अवस्था र वस्तुस्थिति हेरी समन्वय गरेर पठनपाठन सहज तरिकाले सञ्चालन गर्न गराउन सूचित गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update