गोसाइँकुण्ड गाउँपालिकाले विश्व मानवीय दिवस मनाउने, यस्तो छ कार्यसुची

 

काठमाडौँ । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले विश्व मानवीय दिवस–२०२६ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ। 

गाउँपालिकाले आगामी भदौ ३ गते (१९ अगस्ट २०२६) विशेष अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व मानवीय दिवस मनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा यो दिवस मनाउन लागिएको हो । यस वर्षको विश्व मानवीय दिवसको नारा ‘समुदायको सशक्तीकरणका लागि साझेदारी, मानवीय कार्यका लागि हाम्रो तयारी’ रहेको छ।

विश्व मानवीय दिवसको अवसरमा गाउँपालिकाको कार्यालयमा विशेष अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण कर्मचारीको सहभागिता रहने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।

मानवीय सेवामा सक्रिय रहने, पीडित तथा प्रभावित समुदायप्रति संवेदनशीलता बढाउने र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहकार्य सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ।

हरेक वर्ष १९ अगस्टमा मनाइने विश्व मानवीय दिवसले विपद्, द्वन्द्व तथा विभिन्न संकटका अवस्थामा मानवीय सेवामा खटिने व्यक्ति तथा संस्थाको योगदानलाई सम्मान गर्दै मानवीय सहायता र सहकार्यको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राख्छ।

 

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update