लालबन्दी नगरपालिकाले किन भन्यो सार्वजनिक सुचना प्रकाशन गरी उपभोक्ता भेला गर्नू ?

काठमाडौँ । सर्लाहीको लालबन्दी नगरपालिकाले उपभोक्ता समितिमार्फत सञ्चालन हुने विकास योजनाको उपभोक्ता भेला सम्बन्धी सुचना सार्वजनिक रुपमा प्रकाशन गर्न गराउन निर्देशन दिएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ मा उपभोक्ता समिति मार्फत संचालन हुने विकास आयोजनाहरुको प्रभावकारी, पारदर्शी तथा समयमै सम्पन्न गर्नको लागि उपभोक्ता भेला सम्बन्धी सुचना सार्वजनिक रुपमा प्रकाशन गर्न गराउन वडा कार्यालयहरुलाई निर्देशन दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेलका अनुसार नगर कार्यपालिकाको कार्यालयले सबै वडा कार्यालयलाई पत्राचार गर्दै स्वीकृत वार्षिक योजना तथा कार्यक्रमअन्तर्गत उपभोक्ता समितिमार्फत सञ्चालन हुने आयोजनाको पारदर्शितामा जोड दिएको हो ।

निर्देशनअनुसार प्रत्येक वडाले आफ्नो वडामा विनियोजित बजेट तथा स्वीकृत योजनामध्ये उपभोक्ता समितिमार्फत सञ्चालन हुने आयोजनाको पहिचान गरी प्रचलित कानुन तथा कार्यविधिअनुसार उपभोक्ता भेला सम्बन्धी सूचना सार्वजनिक गर्नुपर्नेछ ।

त्यसैगरी उपभोक्ता समिति गठन गर्दा सम्भव भएसम्म वडाका सबै टोलको प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्नुपर्ने नगरपालिकाले जनाएको छ । आम उपभोक्ताको भेलाबाट पारदर्शी र सहभागितामूलक ढंगले समिति गठन गर्ने व्यवस्था मिलाउन पनि वडा कार्यालयहरूलाई निर्देशन दिइएको छ ।

गठित उपभोक्ता समितिलाई प्रचलित कानुनबमोजिम नगरपालिकामा दर्ता गराई दर्ता प्रमाणपत्र तथा स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने प्रक्रियामा सहजीकरण गर्न नगरपालिकाले आग्रह गरेको छ ।

समितिको दर्ता तथा प्यान प्राप्तिका लागि आवश्यक कागजातसहित योजना सम्झौता गर्न नगर कार्यपालिकाको कार्यालयमा यथाशीघ्र पठाउने व्यवस्था मिलाउनसमेत पत्रमा उल्लेख छ ।

नगरपालिकाले निर्धारित प्रक्रिया समयमै पूरा भए स्वीकृत वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयनमा सहजता आउने र विकास निर्माणका काम निर्धारित समयभित्र सम्पन्न गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । साथै, यस कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन वडा अध्यक्ष तथा सम्बन्धित कर्मचारीलाई आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update