काठमाडौँ । सर्लाहीको लालबन्दी नगरपालिकाले अवदेखि नक्सापास नगराई घर टहरा बनाउन नदिने भएको छ । यसअघि नक्सापास नगराई घर टहरा बनाउन पाइने भएपनि अब त्यसो गर्न नपाइने भएको हो ।
नगरपालिकाले ‘लालबन्दी नगरपालिकाको भवन निर्माण इजाजत सम्बन्धी मापदण्ड २०७९ कार्यान्वयनमा ल्याएको छ । सो मापदण्डमा घर, टहरा, जस्ताले छाएको घर, पर्खाल आदि नक्सापास गराएर मात्रै निर्माण गर्न पाइने व्यवस्था छ । हालै सार्वजनिक सुचना प्रकाशन गरेर सो मापदण्ड कार्यानवयनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेलले जानकारी दिए ।
मापदण्ड अनुसार नक्सापास नगरी वा पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरी भवन बनाएको पाइएमा ५ लाख रुपैयाँसम्म जरिवाना हुने प्रमुख प्रशासकीय अधिकृत लुइटेलले जानकारी दिए । यस्तै पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरी भवन बनाएको भए २ लाखसम्म जरिवाना गरी घरधनीकै खर्चमा सो भवन वा त्यसको कुनै भाग भत्कालने आदेश दिन सकिने नगरपालिकाको भनाइ छ ।







