जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न ८० हजार घुस खाने वडाध्यक्षलाई भ्रष्टाचारको मुद्दा 

काठमाडौँ । जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न सेवाग्राहीसँग ८० हजार घुस खाएको आरोपमा पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडा अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो । 

सेवाग्राहीसँग लिएको ८० हजार रुपैयाँ घुससहित उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले नियन्त्रणमा लिएको थियो । 

Ghus-1727167494.jpeg
अनुसन्धानको सिलसिलामा बुद्धशान्ति गाउँपालिका–२ का वडा अध्यक्ष ओलीले जग्गा पास गर्नेसम्बन्धी वडा कार्यालयमा भएको सहमति निर्णय कार्यान्वयन गर्न गराउन सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि भ्रष्टाचारको मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

उनका अनुसार ओलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ८० हजार रुपैयाँ  कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिबाना सजायसमेत हुन मागदाबी लिई मुद्दा दर्ता गरिएको हो । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update