Odapalika - The Fourth Estate - चौथो अंग
कागेश्वरी मनोहरामा उद्घोषण तालिम सम्पन्न 

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ९ ले महिला चेतनामूलक कार्यक्रम अन्तर्गत २५ जना महिलालाई १५ दिने उद्घोषण तथा कार्यक्रम प्रस्तुतिकरण विशेष तालिम प्रदान गरेको छ । 

सरस्वती पूजाका दिन आयोजित समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, वडा नंं ९ का वडा अध्यक्ष अनिल थापा लगायतले प्रमाणपत्र प्रदान गरेका थिए । 

तालिम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख उपेन्द्र कार्कीले आफूले सिकेको सिप र ज्ञान व्यवहारमा प्रयोग गर्न आग्रह गरे । राम्रो मान्छेको खोजी सबैले गर्ने तथा ज्ञानले थप पहिचान पनि दिने भएकाले अवसर पाउँदा अगाडी बढ्न र व्यवसायिक रुपमा समेत आफ्नो कलालाई प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । 

उपप्रमुख शान्ता थापाले सिकेको सीपलाई प्रयोग गर्न समूह बनाएर अघि बढ्न सुझाव दिइन् । १५ दिनको सिकाईले महिला दिदीबहिनीहरुमा निकै उर्जा मिलेको महसुस भएको उनको भनाई थियो । 

वडा नंं ९ का वडा अध्यक्ष अनिल थापाले तालिमको उद्देश्य महिलाहरुलाई आय आर्जन गर्न सहज होस् भन्ने पनि रहेको बताए । समाजमा सचेतना फैलाउन सक्ने बनाउन अझ थप तालिमहरु प्रदान गर्ने पनि उनले बताए । वडा नं. ७ का वडा अध्यक्ष भिमसेन थापाले सबै प्रशिक्षार्थीहरुलाई तालिम प्राप्त गरेकोमा बधाई दिँदै महिलाहरुको क्षमता अभिवृद्धिका लागि यस्ता प्रकारका तालिमहरु आवश्यक पर्ने बताए ।

समापन कार्यक्रममा वडा नंं ९ का वडा सदस्यहरु मन्जु थापा, भगवती बस्नेत, सारा पुर्कुटी, प्रशिक्षकद्धय शिरोमणी दवाडी र पुरुषोत्तम बस्नेतलगायत अन्यको उपस्थिति थियो । समापन कार्यक्रम प्रशिक्षार्थीहरुले नै सञ्चालन गर्दै आफूले तालिमका क्रममा सिकेका र अनुभव गरेका कुराहरु समेत सुनाए । उनीहरुले तालिम पाएपछि आफूहरुमा आत्मविश्वास बढेको तथा अझ थप कुराहरु सिक्न मन लागेको बताएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update