Odapalika - The Fourth Estate - चौथो अंग
कागेश्वरी मनोहरालाई अव्वल नगरपालिका बनाउने मेयर कार्कीको प्रतिबद्धता

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा विकास गरी लैजाने आफ्नो चाहना रहेको बताएका छन् ।

शिक्षा, स्वास्थ्य, पिउने पानी, उद्यमशीलता र रोजगारीका क्षेत्रमा कागेश्वरी मनोहरालाई अव्वल नगरपालिका बनाउने योजना अनुसार काम भैरहेको र यसमा आफूले नगरवासीको सहयोग खोजेको उनले बताए ।

कागेश्वरी मनोहरा नगरपालिका –९ स्थित शिव सुन्दर टोल सुधार सेवा समाजको सातौ वार्षिक साधारणसभालाई कांडाघारीमा उद्घाटन सहित संवोधन गर्दै मेयर कार्कीले यस्तो बताएका हुन् ।

खानेपानी यस क्षेत्रको मुख्य समस्या रहेकाले चालु आर्थिक वर्षभित्र संघीय र प्रदेश सरकारको आर्थिक सहयोगमा थप स्रोतको जोहो गरी नगरका सवै टोलमा खाने पानी पुरयाउने प्रतिवद्धता समेत जनाए ।

नगरपालिकाले शिक्षाको सुधारमा पनि विशेष कार्यक्रम अघि सारेको र स्वास्थका सम्बन्धमा नगरपालिका अन्तरगत सुविधासम्पन्न अस्पताल र विशेषज्ञ दक्ष चिकित्सकबाट सेवा प्रवाह गर्नेगरी कार्य भैरहेको मेयर कार्कीको भनाइ छ । 

निजी ठूला अस्पतालले उपलव्ध गराए सरहै स्वास्थ्य सेवा र चिकित्सक सेवा दिन हरसम्भव काम गरिरहेको भन्दै उनले स्वास्थ्य वीमालाई स्थानीय जनतासम्म जोड्ने अभियानमा सहयोग गर्न स्थानीय टोल समाजहरुलाई आग्रह पनि गरे ।

नगरभित्र उद्यमशीलताको प्रवद्र्धनमार्फत रोजगारी सृजना, उत्पादनमा जोड दिन स्टार्टअप कार्यक्रम अगाडी बढाउन आवश्यक रहेको र यसका लागि टोल सुधार समाजमार्फत उद्यमशीलताका कार्यक्रम लैजाने योजना रहेको पनि उनको भनाइ छ ।

मेयर कार्कीले नगरपालिकाले आर्थिक, समाजिक, शैक्षिक, सांस्कृतिक, स्वास्थ्य,खेलकुद लगायतका क्षेत्रमा अगाडी सारेका कार्यक्रमलाई सफल बनाउने कार्यमा सघाउन टोल समाजलाई आग्रह समेत गरे । शिक्षा, स्वास्थ्य र ठूला विकास आयोजनामा नगरपालिका आफैले र ससाना कामहरु पीपीपी र पचास/पचासको मोडलमा लैजान सकिने उनको भनाइ छ ।

मेयर कार्कीले सो अवसरमा शिव सुन्दर टोल सुधार समाजको सक्रियताको प्रशंसा गर्दै आफ्नो सधै सहयोग रहने प्रतिवद्धता जनाए ।

सो अवसरमा शिव सुन्दर टोल सुधार समाज संस्थापक अध्यक्ष कृष्णबहादुर बुढाथोकी र संस्थापक उपाध्यक्ष भोजराज आचार्यलाई सम्मानपत्र सहित सम्मानित गरिएको छ । समाजमा आजिवन सदस्य वन्ने करिव २७ जनालाई आजिवन सदस्यको परिचयपत्र प्रमुख अतिथि मेयर कार्कीका हातबाट हस्तान्तरण गरिएको थियो । 

संस्थाले समाजभित्र हरेक साल सदस्यता शुल्क संकलन गर्नुको साटो एकमुष्ठ ५ हजार रुपैया तिरेपछि आजीवन सदस्य बन्न पाउने विकल्प खुला गरेपछि धेरै टोलवासीहरु आजीवन सदस्यता लिन इच्छुक देखिएका छन् । यसरी आजीवन सदस्यबाट आएको रकमबाट एक अक्षयकोष खडा गरी त्यहीबाट आएको व्याजबाट सानातिना कामहरु गर्ने मनसायले शिव सुन्दर टोल सुधार समाजले उक्त विकल्प अघि सारेको हो । 

कागेश्वरी मनोहरा नगरपालिकाका प्रथम मेयर कृष्णहरि थापाले खानेपानीको समस्या समाधान गर्न तीनै तहका सरकारको सहयोग आवश्यक रहेको प्रष्ट पार्नुभयो । नियमित टोल भेला राख्न र समाजलाई एक ढिक्का बनाएर काम गर्न समाज अझ बढी सक्रिय भएर लाग्न पनि उहांले सुझाव दिए ।

कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष रणबहादुर कार्कीले समाजले अघिल्लो आर्थिक वर्ष सम्पन्न गरेका कार्यक्रमको जानकारी गराउदै चालु आवको कार्यक्रम पेश गरेका थिए । । सो अवसरमा अध्यक्ष कार्कीले टोल समाजले पेश गरेका कार्यक्रमलाई नगरपालिकाले प्रमुखताका साथ सहयोग गर्नुपर्नेमा जोड दिए ।

समाजका सहसचिव विदुरचन्द्र लामिछानेले उपस्थित सवैलाई स्वागत गर्दै स्थानीय सरकारले आफ्नो क्षेत्रलाई सफलरुपमा अगाडी बढाउन स्वच्छता र हरियाली, गुणस्तरीय शिक्षा र सीप, आर्थिक आत्मनिर्भरता, सूचना प्रविधिको उपयोग, पूर्वाधार सेवा सुविधा, पारदर्शिता र उत्तरदायित्व जस्ता विषयमा केन्द्रीत भई काम गर्नुपर्ने धारणा राखे । सहसचिव लामिछानेले खानेपानी टोलवासीको सवैभन्दा पहिलो र मुख्य माग भएकाले यसलाई संवोधन गर्न मेयर कार्की समक्ष आग्रह गरे ।

कार्यक्रममा संघका कोषाध्यक्ष ज्योति दाहालले समाजको आयव्यव विवरण पेश गरेका थिए । कार्यक्रममा एकिकृत कांडाघारी टोल सुधार समाजका अध्यक्ष डोलप्रसाद पोखरेल, कांडाघारी समाजका अध्यक्ष भागिरथी पन्त, हिमालय टोल सुधार समाजका सचिव लीलाधर दाहालले शुभकामना मन्तव्य दिए भने शिव सुन्दर टोल सुधार सेवा समाजका सचिव पुरुषोत्तम घिमिरे, सदस्यहरु रुद्रप्रसाद सिवाकोटी, कल्याणी वोहोरा, कुन्तामाया अधिकारी, पूर्ण लिम्वुले पनि आ–आफ्ना सुझाव राखेका थिए । वार्षिक साधारण सभामा समाज भित्रका टोलवासीहरुको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update