
काठमाडौँ । पोखरा महानगरपालिकामा कार्यरत सातौँ तहका एकजना अधिकृत र व्यवसायीमाथि हातपात गरेको अभियोगमा महानगरकै वडा नम्बर ४ का वडाअध्यक्ष पक्राउ परेका छन् ।
मंगलवार प्रमुख प्रशासकीय अधिकृतकै अघि वडा नम्बर ४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले अधिकृत इश्वरीप्रसाद पोखरेल र एकजना स्थानीय व्यवसायीमाथि हातपात गरेका थिए ।
यो हातपातपछि बुधवार पोखरा महानगरपालिकाका कर्मचारीले वडाअध्यक्षमाथि कारवाहीको माग गर्दै महानगर र सवै वडाका काम ठप्प पारेका थिए ।
कुटाइ खाएका व्यवासायीको उजुरीका आधारमा वडाअध्यक्ष पराजुलीलाई बुधवार नै प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीविरुद्ध सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुर लगाइएको प्रहरीको भनाइ छ ।
व्यवसायीको जाहेरीका आधारमा वडाअध्यक्ष पक्राउ परेपछि कर्मचारीका तर्फबाट भने अर्को जाहेरी दर्ता भएको छैन ।