
काठमाडौँ । निजामती सेवा विधेयकमा आफ्ना माग सम्बोधन नगरिएको भन्दै दार्चुलाको अपिहमिाल गाउँपालिकाका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्दै काम ठप्प पारेका छन् । दार्चुलाकै नौगाढ गाउँपालिकाका कर्मचारीले पनि आज तालाबन्दी गरेका छन् ।
प्रदेश निजामती र स्थानीय सेवाका कर्मचारीहरुको संयुक्त संघर्ष समितिले आन्दोलनको तयारी गरिरहेका बेला पालिकास्तरीय संघर्ष समितिको आह्वानमा आज पालिकाको कामकाज ठप्प पारिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर रावलका अनुसार कर्मचारीले तालाबन्दी गरेका कारण अत्यावश्यकबाहेकका सबै सेवा ठप्प भएको हो ।
कर्मचारीहरुले आफ्ना माग विधेयकमा सम्बोधन गर्न दवाव दिदै कामकाज ठप्प पारेको उनले बताएका छन् । विगतमा भएका सहमति विपरित राज्य व्यवस्था समिति हुँदै संसदबाट विधेयक पारित गर्न लागिएको भन्दै प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलनमा होमिएका छन् ।
स्थानीय सेवा र प्रदेश निजामती सेवामा कार्यरत कर्मचारीको संयुक्त संघर्ष समितिले ५ बुँदे माग अघि सार्दै आन्दोलनको तयारी तिब्र पारेको छ ।
विधेयकमा अन्तर प्रदेश र अन्तर प्रदेश स्थानीय तह सरुवाको व्यवस्था हुनुपर्ने, ऐन जारी भएकै मितिबाट प्रदेश कानुन बमोजिम स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउनुपर्ने उनीहरुको माग छ ।
त्यसैगरी स्थानीय सेवाका कर्मचारीलाई निजामतीको परिभाषामा समेट्नुपर्ने, प्रदेश निजामती सेवामा कार्यरत कर्मचारीले तीनवटै तहमा प्रतिस्पर्धा गर्न उमेरुहद लगाउन नहुने, यस्ता कर्मचारीको सुरु अवधिदेखि नै सेवा गणना हुनुपर्नेलगायतका माग उनीहरुले अघि सारेका छन् ।