Odapalika - The Fourth Estate - चौथो अंग
निजामती सेवा विधेयकविरुद्ध सिंहदरवारमा आज पनि कर्मचारीको धर्ना 

काठमाडौँ । प्रस्तावित निजामती सेवा विधेयकमा रहेका केही व्यवस्थाप्रति असहमति जनाउँदै निजामती कर्मचारीहरूले आज पनि सिंहदरवार केन्द्रीत आन्दोलन जारी राखेका छन् । 

कर्मचारीहरूले वृत्ति विकास, सेवासुविधा र अन्य प्रावधानमा असन्तुष्टि व्यक्त गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध गरेका हुन् । निजामती कर्मचारी युनियनका प्रतिनिधिहरूले विधेयकमा कर्मचारीहरूको वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवामा अस्पष्टता रहेको र सेवासुविधा कटौती गर्ने प्रावधान राखिएको भन्दै विरोधमा उत्रिएको बताए । 

नेपाल निजामती कर्मचारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालका अनुसार कर्मचारीले पाँच वर्ष काम गरेको कर्मचारीको एक तह र दश वर्ष काम गरेको कर्मचारीको एक श्रेणी बढुवा हुनुपर्ने, शाखा अधिकृतले पाँच वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था कायम हुनुपर्ने, कर्मचारीको अन्तरप्रदेश सरुवा हुनुपर्ने लगायतका मागहरू अघि सारेका छन् ।

कार्यवाहक अध्यक्ष कटुवालले मेचीको मान्छे दार्चुला गएर काम गर्ने वाध्यता रहेको उल्लेख गर्दै कर्मचारी घर जान पाउने कि नपाउने ? भन्दै प्रश्न गरे । ट्रेड  युनियन सञ्जालका ११ बुँदे मागहरू सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ । 

उनले भने, ‘आज नेपाल निजामती कर्मचारी युनियनले ट्रेड युनियन सञ्जालका ११ बुँदे मागहरूको सम्बन्धमा एउटै मुद्दा बोकेर आजसम्म हिँडेको अवस्था छ । हाम्रा ११ बुँदे मागहरूमा हामीले कर्मचारीको वृत्र् िविकासका कुराहरू गरेका छौँ । त्यसमा हामीले भनेका छौँ पाँच वर्षमा एक तह र र दश वर्ष नाघेकालाई एक श्रेणी बढुवा गर्ने कुरा राखेका छौँ । हिजो शाखा अधिकृतले पाँच वर्षमा खुला प्रतिस्पर्धा गर्न दिने प्रावधान सरकारको अकर्मण्यताका कारण सात वर्ष राखिएको छ । खबरदार त्यसलाई पाँच वर्ष कायम गरियोस् भनेर म नेपाल सरकार र राज्य व्यवस्था समितिसँग अनुरोध गर्न चाहन्छु । हामीले अन्तरप्रदेश सरुवाको माग गरेका छौँ । अहिले मेचीको मान्छेले दार्चुलामा नियुक्ति लिएको छ । त्यस्ता मान्छेले एक पटक आफ्नो घर जान पाउने कि नपाउने ? स्थानीय तहमा रहेका प्रदेशका सबै साथिहरुको अन्तरप्रदेश सरुवाको व्यवस्था गरियोस् । परिभाषाका कुराहरू पनि छन् । हिजो एउटै ढोकाबाट नियुक्ति लिएका कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहमा समेट्नुपर्छ भन्ने पनि हाम्रो माग हो ।’ 
 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update