Odapalika - The Fourth Estate - चौथो अंग
कालिका नगरका जनताको घरघरमा जिपिएस सिस्टम, कसरी काम गर्छ यसले ? 

काठमाडौँ । चितवनको कालिका नगरपालिकाले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) प्रणालीमा आधारित घर नम्बर वितरण सुरु गरेको छ । नगरपालिकाको वडा नं ४ बाट जिपिएससहितको  घर नम्बर वितरण थालिएको हो ।

नगर प्रमुख विनोद रेग्मीले वडा नं ४ को वीपी चोकस्थित एक घरमा नम्बर प्लेट टाँसेर वितरणको सुरुआत गरे  । आउँदो आर्थिक वर्षमा समग्र नगरपालिकाभरि घर नम्बर वितरण गरिने उनको भनाइ छ ।  

आउँदो वर्षको बजेटमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर काम अघि वढाउने उनको भनाइ छ । आधुनिक प्रविधिको जिपिएस प्रणाली प्रयोग गरी घर नम्बर जडानसँगै घर सहज रुपमा पत्ता लगाउन सकिने, सुरक्षित हुने र नगरपालिकाका विभिन्न गतिविधि गर्न सहज हुने प्रमुख रेग्मी बताउँछन् । 

वडा नं ४ का अध्यक्ष मकरमान श्रेष्ठले वडाका घरमा क्रमशः नम्बर वितरण गर्दै जाने बताए । उनले ८०० नम्बर प्लेट आइसकेको जनाउँदै यो वर्ष नसकिएका घरमा आगामी वर्ष काम गरिने बताए ।

घर भएका र खाली घडेरीमा समेत नम्बर दिइने छ । सो वडामा ८०० हाराहारी घरधुरी छन् । कालिकाको पदमपुर क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको बस्ती स्थानान्तरण गरेर ल्याइएको क्षेत्रमा पर्दछ । यस क्षेत्रमा व्यवस्थित बसोबास छ । यो प्लानिङ क्षेत्र भएकाले नौलो मानिसका लागि सबैतिर एकै खालको सडक र बस्ती देखिन्छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update