Odapalika - The Fourth Estate - चौथो अंग
राज्य व्यवस्था समिति सभापति खतिवडा भन्छन्– नयाँ दफा थपिएछ, मेरो दोष छैन

काठमाडौँ । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा नयाँ दफा नै थप गरिएको पाइएको बताएका छन् ।

समितिबाट सर्वसम्मत पास भएको विधेयकमा  नभएको दफा थपिएको उनको दाबी छ । 

‘हामीले जे पास गरेका थियौं त्यसको ठिक मुनि एउटा दफा थपिएर पछिबाट सदनमा गएको हामीले फेला पार्‍यौं । यो कसको गल्तीबाट भएको छ त्यसलाई कानुनको दायरामा ल्याउनुपर्छ,’ सभापति खतिवडाले भने ।

कतिपय सांसदहरुले यसमा समितिको सभापति र सचिवलाई जिम्मेवार रहेको भन्दै कारबाहीको माग गरेका छन् । रास्वपाले त सभापति खतिवडाको राजीनामा नै मागेको छ । माओवादी केन्द्रले भने यस विषयमा छानबिन गर्नुपर्ने माग गरेको छ ।

खतिवडाले आफू दोषी देखिए कारबाही भोग्न तयार भएको बताए ।

‘म आफैंमाथि पनि आवश्यक छानबिन होस् र दोषी देखिए कारबाहीको दायरामा आउन चाहन्छु । यसमा छानबिनका लागि सभामुखलाई नै आग्रह गरेका छौं,’ उनले भने ।

सभापति खतिवडाले समितिबाट पास भएको प्रतिवेदन प्रतिनिधि सभाबाट पास हुँदा एउटा दफा नै थपिएर आएको भन्दै यसमा छानबिन हुनुपर्ने बताए । यो कार्य संसदमाथि भएको ठूलो प्रहार हो भन्ने उनको भनाइ छ ।

समितिले सर्वसम्मत रुपमा पास गरेको विधेयकमा प्रतिनिधिसभाबाट पारित हुँदा निजामती कर्मचारीलाई २ वर्ष कुलिङ पिरियड राखिएको भनिएको थियो । तर, प्रतिनिधिसभाबाट पारित भएको विधेयकमा भने सहसचिव, सचिव र मुख्यसचिवलाई कुलिङ पिरियड नलाग्ने व्यवस्था छ ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update