
काठमाडौँ । मेट्रो रेल संचालनको लागि लगानी जुटाउन नेपाली टोली युरोप पुगेको छ । लगानी बोर्ड र नेपाल जर्मन चेम्बर अफ कमर्शका प्रतिनिधिहरु बेलायत तथा जर्मनीमा पुगेर सम्भावित लगानीकर्तासँग छलफल गरेका हुन् ।
नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले बेलायत र जर्मनीका लगानीकर्ताहरुलाई नेपालमा मेट्रो रेलमा लगानी परिचालन गर्न आग्रह गरे ।
नेपाली राजदूतावास यूके लन्डन र सोसाइटी अफ नेपलिज ईन्जिनियर्स यूकेले संयुक्त रूपमा आयोजित बिटुबी मिटिङमा अध्यक्ष कुँवरले सो प्रस्ताव गरेका थिए ।
उक्त विशेष बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले भाग लिएका थिए ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा यातायात पूर्वाधारमा धेरै सम्भावना भएको बारे प्रस्ट पार्दै नेपालमा मेट्रो रेलमा लगानी गर्न आग्रह गरे । नेपाल जर्मन उद्योग वाणिज्य संघका साथै यूकेका लगानीकर्ताहरुलाई संयुक्त रूपमा लगानी जुटाई अगाडि बढ्न अनुरोध गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यसमा पूर्णरुपमा लगानीको सुरक्षाको प्रत्याभूति दिने प्रतिवद्धता जनाए ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानीका प्रावधान बारे प्रष्ट पार्दै नेपालमा अहिले लगानीको वातावरण राम्रो भएको र राम्रो प्रतिफलको पनि सम्भावना रहेको बताए ।
सोसाइटी अफ नेपालिज ईन्जिनियर्स यूकेका इन्जिनियर सुबोध तिमिल्सिनाले मेट्रो रेलको पूरा खाका साथै आफ्नु अनुभव सुनाउँदै लगानीको प्रसस्त सम्भावना भएको बताए ।
बेलायतका लागि नेपाली राजदुत चन्द्र घिमिरेले नेपालमा मेट्रो रेलमा लगानी गर्ने ठूलो अवसर भएको बताए । उनले लगानीकर्ताहरुलाई लगानी गर्न र यसको प्रतिफल लिन अनुरोध गर्दै नेपालमा व्यवसायिक बाताबरण राम्रो भएको विश्वास दिलाए ।