
पोखरा । पोखरामा पहिलो पटक ‘आरयु फेष्ट’ हुने भएको छ । पोखरा हानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’मार्फत हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत आरयु फेष्ट गर्न लागिएको हो ।
साउन १६ र १७ गते पोखराको इभेन्ट सेन्टरमा फोहोरलाई खजाना (मोहोर) बनाउने मूलमन्त्रसहित यो महोत्सव आयोजना गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज पत्रकार सम्मेलन गरी जानकारी दिए । पोखरासहित मुलुकको हरित विकासका लागि एक नवीनतम् प्रयासका रूपमा महोत्सव स्थापित हुने उनको अपेक्षा छ ।
महोत्सवले सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका लागि हातेमालो गर्दै वातावरणमैत्री र सुरक्षित भविष्य निर्माण गर्ने लक्ष्य राखेको नगरप्रमुख आचार्यले बताए ।
‘दैनिक जीवनमा प्रयोगहीन सामग्रीहरू रिसाइक्लिङ र अपसाइक्लिङ गरी हरित रोजगारी सिर्जनासहित चक्रीय अर्थतन्त्रको निर्माणमा महोत्सवले नयाँ ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्नेछ । यसले उद्यमशीलता र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान गर्नेछ,’ उनले भने ।
महोत्सवमा रिसाइक्लिङ र अपसाइक्लिङ सम्बन्धी नेपालको मौलिक सीप, दक्षिण कोरियाको चक्रीय अर्थतन्त्रमा यसले पारेको सकारात्मक प्रभाव र प्रेरणादायी अनुभवहरू आदानप्रदान गरिने उनले बताए ।
नगरप्रमुख आचार्यका अनुसार देशभरिका नवप्रवर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टू रोड प्रविधिमाथि संवाद, युवाका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधिहरू प्रस्तुत, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपायहरूलगायत विषयहरूमाथि चर्चा परिचर्चा हुनेछ ।
हाल रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत कोइकाको नौ दशमलप आठ मिलियन अमेरिकी डलर र युएनडिपीले शून्य दशमलव ८७ मिलियन अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ एक अर्ब ४४ करोडको आर्थिक सहयोगमा पोखरामा जिभिजेड सेन्टर निर्माण भइसकेको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माण भइरहेको छ । पोखरा महानगरपालिका क्षेत्रमा १३६ वटा सामुदायिक समूह निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण पनि प्रदान गरिएको छ ।
फोहोरमैलाको उचित व्यवस्थापनमार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयू उद्यमहरूलाई बढावा दिन दिगो नीतिको सुनिश्चिततासहित महानगरपालिकाले परियोजनाको स्वामित्व लिनेछ । परियोजनामार्फत आगामी २ वर्षमा तीन हजार रोजगारी सृजना गर्ने लक्ष्य राखिएको छ । पर्यटकीय राजधानी पोखरालाई हरित, दिगो र आधुनिक बनाउने यात्रामा हातेमालो गर्न पोखरा महानगरपालिकाले आम पोखरेलीहरूलाई सार्वजनिक आह्वानसमेत गरेको छ ।