Odapalika - The Fourth Estate - चौथो अंग
सरकारी कर्मचारीप्रति सामान्य प्रशासन मन्त्री न्यौपानेको कटु बचन, भनिन्– काम गर्दैनन्, रटेर बस्छन्

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरूप्रति कटु बचन बोलेकी छिन् ।

उनले सरकारी कर्मचारीले कामभन्दा बढी लोक सेवामा ध्यान दिने गरेको बताएकी हुन् ।

शुक्रबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै कर्मचारीहरूमा काम गर्ने मनोवृत्ति नदेखिएको आरोप मन्त्री न्यौपानेले लगाएकी हुन् ।

मन्त्री न्यौपानेका अनुसार अहिले पनि सरकारी कर्मचारीहरू काम गरेर बस्दैनन्। उनीहरू आफ्नो वृद्धिविकासका लागि हाजिर लगाएर लोक सेवाको तयारी स्वरूप पढाइमा रटान लगाइरहेका हुन्छन्। यसैकारण सरकारले चाहेअनुसारको नतिजा दिन सकेका छैन। 

‘म पनि संघीय मामिला मन्त्रालयमा मन्त्री भएर आएर देखेँ। धेरैको सोचाइ भनेको हाजिर लगाउने, आफ्नो अरू थप वृत्तिविकासका लागि समय खर्चिने प्रवृत्ति देखेँ। सबै तहमा खुला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त गर्ने हो भने त काम गर्नेभन्दा बढी लोक सेवाको तयारी गरेर बस्ने, पढ्ने, रट्ने यतातिर ध्यान दिने स्थिति भयो। त्यो हुँदो नै रहेछ। त्यसैले धेरै पदमा खुला प्रतिस्पर्धाबाट गर्नुहुन्न,’ उनले भनिन् ।

संघीय मामिला मन्त्रालयले संघीय निजामती विधेयक ल्याउँदा नासुमा खरिदार खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव गरेको थियो। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले नासु खुलाबाट नगर्ने प्रस्ताव पास गरेको छ। 

प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा सम्बन्धी विधेयकअनुसार लोक सेवा आयोगबाट अब नायब सुब्बा, सहसचिव पदमा खुला विज्ञापन नहुने अवस्था छ।

राष्ट्रिय सभामा पुगेको विधेयकमा खरिदार तहबाट बढुवा सम्बन्धी व्यवस्था छ। खरिदार तहमा आन्तरिक बढुवामार्फत् मात्र नायब सुब्बामा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ।

खरिदार तहमा खुला प्रतिस्पर्धा हुनेछन् भने खरिदार तहमा कक्षा १२ उत्तीर्ण हुनुपर्नेछ।

विधेयकले सहसचिव र नायब सुब्बा पदमा खुला प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरेको छ। उपसचिव, शाखा अधिकृत र सहायक (खरिदार) मा मात्रै खुला प्रतिस्पर्धाबाट सेवा प्रवेश पाइनेछ। शाखा अधिकृतमा ७० बाट घटाएर ६० प्रतिशत खुला परीक्षाबाट पदपूर्ति गरिने व्यवस्था राखिएको छ।

यसका अलवा उपसचिवमा १० प्रतिशत खुला विज्ञापनद्वारा पदपूर्ति गरिने व्यवस्था राखिएको छ।

यस्तै पास भएको विधेयकमा अब उपसचिवमा भिड्न शाखा अधिकृत भएको ७ वर्ष पूरा भएको हुनुपर्दछ। यसअघि पाँच वर्ष पूरा भएपछि उपसचिवमा प्रतिस्पर्धा गर्न पाइने प्रावधान राखिएको थियो।

विधेयकमा सहसचिवमा खुला प्रतिस्पर्धा हटाइएको छ। अहिलेसम्म खुला प्रतिस्पर्धाबाट सहसचिव लड्न पाउने व्यवस्था रहेकोमा यो विधेयक पास भएपछि खुलामा सहसचिव लड्न पाइने छैन।

संघीय मामिला मन्त्रालयका सचिव रविलाल पन्थले विधेयकमा खरिदार तहमा पसेका सबैलाई बढुवा गर्नेगरी नयाँ प्रावधान आएको बताए।

समिति बैठकमा सांसदहरूले कर्मचारीको वृद्धिविकास रोक्न नहुने बताए।

नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले कर्मचारीले पढ्छन्, काम गर्दैनन् भनेर उनीहरूको वृद्धिविकास रोक्नु ठिक नभएको बताइन्।

‘तल्लो स्तरको कर्मचारीको वृद्धिविकासलाई रोक्ने कुरा मलाई व्यक्तिगत रूपमा मञ्जुर छैन। कर्मचारीले पढ्छन्, काम गर्दैनन्, यस्तो पनि तर्क हुन्छ ? त्यहाँका हाकिमले के गर्छन् त ? कर्मचारीलाई काम गराउन पर्‍यो नि ! कार्यालय समयमा काम गर्ने नियम बनाउनुपर्‍यो। अतिरिक्त समयमा कसैले पढेर नाम निकाल्छ भने कसैको वृद्धिविकास किन रोक्ने ?’ उनले भनिन् ।

पञ्चायतकाल नभई अहिले गणतन्त्र भएकाले कसैको वृद्धिविकासलाई कसैले रोक्न नहुने उनको तर्क छ।

नेपाली कांग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायले पनि खुला प्रतिस्पर्धालाई रोक्न नहुने बताए।

उनकाअनुसार कर्मचारीले काम गर्दैनन् भनेर उनीहरूको वृद्धि विकासलाई नै असर गर्नेगरी कानून बनाइनु हुँदैन। 

‘मैले राज्य व्यवस्था समितिका सांसदज्यूहरूलाई सोधें, आजको जमानामा पनि प्रतिस्पर्धालाई बन्द गर्न मिल्छ त भनेर ? उहाँहरूले मान्छेहरू खाली अफिस जाने, हाजिर लगाउने, लोक सेवाको तयारी मात्रै गर्ने देखियो र रोकिएको हो भन्ने तर्क दिनुभयो। नासु, खरदारमा नाम निकाल्न अप्सन हुनसक्छ, त्यसैले कसैलाई विभेद गर्न मिल्दैन। सहसचिवमा खुला गर्ने हो भने नासु पनि खुला गर्नुपर्छ। यो विभेद गर्ने कुरा हुँदैन। नियमन गर्ने कुरा गनुपर्छ,’ उनले भने ।

बैठकमा बोल्ने अन्य सांसदहरूले समेत विभेद गर्न नहुने पक्षमा जोड दिएका थिए।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update