Odapalika - The Fourth Estate - चौथो अंग
सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, संसदीय विकास कोषको रकम आफ्नै खातामा

काठमाडौँ । महोत्तरी क्षेत्र नं ४ (ख) बाट निर्वाचित प्रदेश सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। 

प्रदेश सांसद सिंह समेतले विभिन्न उपभोक्ता समितिहरु गठन गरी उपभोक्ता समितिको खाताहरुमा जम्मा भएको रकम आफ्नो स्वकीय सचिवमार्फत झिकेर भ्रष्टाचार गरेको आरोप छ। 

सांसद सिंहका स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिकेर आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गर्न लगाएको पाइएको छ। यस्तै केही रकम स्वकीय सचिव कायस्थको नाममा जम्मा गरेको पनि अख्तियारको आरोप छ।

प्रदेश संसदीय विकास कोषको आर्थिक वर्ष २०७८-०७९ को वार्षिक बजेटमा विनियोजन भएको रकमबाट महोत्तरी जिल्ला क्षेत्र नं ४ (ख) अन्तरगतका रामगोपाल नगरपालिका, मनराशिसवा नगरपालिका र सम्सी गाउँपालिकाका विभिन्न वडाहरुमा उपभोक्ता समितिमार्फत भ्रष्टाचार गरेको आरोप छ। 

देवी माहारानी सौन्दर्यकरण उपभोक्ता समिति,  मनराशिसवा नगरपालिका २ कट्टी, रधवा पिपल गुरुकुल एकडेमी हुँदै अनहेरभाटस्थानसम्मको सडक स्तरोन्नति कार्य उपभोक्ता समिति, सम्सी गाउँपालिका ५ संग्रामपुर, अधुरो कमलामाई मन्दिर निर्माण तथा मालतमाई स्थानको कम्पाउन्डवाल निर्माण उपभोक्ता समिति,  मनराशिसवा नगरपालिका ७, कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समिति रामगोपालपुर ५ कन्चनपुर, माइस्थान मन्दिरको सौन्दर्यकरण निर्माण उपभोक्ता समितिमार्फत भ्रष्टाचार गरेको आरोप छ। 

यस्तै रामगोपालपुर नगरपालिका  ८ हरिणमरी, रधवा पिपल चौकदेखि वडा नं ७ सहसौलासम्म साथै अनहेरभाट स्थानदेखि जनता प्रावि हुँदै लक्ष्मीनीयासम्म माटो ग्रेभल निर्माण उपभोक्ता समिति, सम्सी गाउँपालिका ४ गौढा, धर्मशाला निर्माण कार्य उपभोक्ता समिति, मनराशिसवा नगरपालिका ७ र धर्मशाला एवं रामनारायण महतोको घरदेखि रामबृक्ष महतोको गाछीसम्म बाटो स्तरोन्नति उपभोक्ता समिति रामगोपालपुर नगरपालिका ४ को लागि विनियोजन भएको रकममा भ्रष्टाचार भएको आरोप छ। 

उपभोक्ता समितिहरुको नाममा साविकको लक्ष्मी बैंक हाल लक्ष्मी सनराइज बैंकमा रहेको खातामा जम्मा भएको एक करोड ३६ लाख २७ हजार ४८१  रुपैयाँ मध्ये ३८ लाख ५० हजार ३१९ रुपैयाँ आफ्नो खातामा सारेको आरोप छ। 

प्रदेश सांसद सरोज कुमार सिंहसँगै रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी भन्ने स्विकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मंडल, योगिन्द्रर महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीसमेतलाई प्रतिवादी बनाइएको छ। 

उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुर गरेको आरोपपत्रमा उल्लेख छ।

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update