काठमाडौं । अमेरिकाको न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानी निर्वाचित भएका छन् ।
अन्तराष्ट्रिय समाचार संस्थाहरुले दिएको जानकारी अनुसार ३४ वर्षीय ममदानी न्यूयोर्कका पूर्वगभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै विजयी भएका हुन् ।
मुस्लिम समुदायका मेयर ममदानी न्यूयोर्कको पहिलो मुस्लिम मेयर पनि बनेका छन् ।
मेयरमा निर्वाचित भएको घोषणा गरिए पनि उनले जनवरी १ मा पदभार ग्रहण गर्नेछन् । मेयर ममदानी एक शताब्दीयताकै न्यूयोर्कको सबैभन्दा कान्छो उमेरको मेयर पनि बन्ने छन् ।
उनका बाबु भारतीय मुलका मोहम्मद मदानी हुन् । उनको जन्म अफ्रिकी देश युगान्डाको कम्पाला भन्ने स्थानमा भएको हो । त्यसैकारण उनी न्युयोर्कको मेयर बन्ने पहिलो दक्षिण एशियाली मूलका र अफ्रिकामा जन्मेका पहिलो व्यक्ति बनेका छन् ।
३४ वर्षीय जोहरान ममदानी राजनीतिमा आउनु अघि हिप–हप र्यापर थिए। उनको चर्चित गीत ‘काण्डा‘ युगान्डामा निकै भाइरल भएको थियो, जसमा कम्पालाको जीवन र युवाहरूको संघर्ष चित्रण गरिएको थियो।
सङ्गीतकै माध्यमबाट आफूले समाजमा असमानता र पहिचानको राजनीतिबारे बोल्नुपर्छ भन्ने महसुस पहिलोपटक गरेको उनको भनाइ छ ।
कलेज सकेपछि उनी क्वीन्समा बसाइँ सरे र प्रवासी, भाडामा बस्नेहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनमा सक्रिय भए। सन् २०१७ मा उनले डेमोक्र्याटिक पार्टीमार्फत राजनीतिक यात्रा सुरु गरे। सन् २०२० मा उनी न्युयोर्क स्टेट असेंबलीमा निर्वाचित भए र २०२२ तथा २०२४ मा निर्विरोध जिते।
आफ्नो कार्यकालमा ममदानीले सर्वसाधारणसँग प्रत्यक्ष सम्बन्ध राख्ने मुद्दा उठाए, जसले उनलाई निकै लोकप्रिय बनायो।
उनले सस्तो र सजिलो आवासलाई सबैको अधिकार बनाउने अभियान चलाए। सार्वजनिक यातायात निःशुल्क गर्न माग गरे। न्यूनतम तलब ३० डलर प्रतिघन्टा पुर्याउने प्रस्ताव राखे। अहिलेसम्म उनले २० वटा विधेयक समर्थन गरेका छन्, जस मध्ये ३ कानून बनेका छन्।
तीमध्ये एक भाडा नियन्त्रण विधेयक मध्यवर्गीय र प्रवासी समुदायमा निकै लोकप्रिय भयो। ममदानीले चुनाव प्रचारमा शहरको बढ्दो बसोबास खर्चलाई मात्र मुद्दा बनाएका छैनन्, साथै धनीहरूमाथि कर लगाएर गरीब वर्गका लागि आवास योजनाहरू दिने वाचा समेत गरेका छन्।
राजनीतिक हलचल
न्युयोर्क सिटीलाई अमेरिकाको मुटु मानिन्छ। यहाँ मेयर बन्ने कुरा केवल शहर प्रमुख बन्नु मात्र होइन, अमेरिकाको अत्यन्त प्रभावशाली राजनीतिक पदमा पुग्नु हो।
यहाँको वार्षिक जीडीपी नै करिब २.३ ट्रिलियन डलर छ । मेयरको हातमा प्रशासन, प्रहरी, यातायात, आवास, शिक्षा र स्वास्थ्य प्रणालीको नियन्त्रण हुन्छ।
ममदानीले ६७ वर्षीय पूर्व गभर्नर एन्ड्रयू कूमोलाई पराजित गर्न सके । यौन उत्पीडनको आरोपका कारण ४ वर्षअघि राजीनामा दिएका कूमो निर्दलीय उम्मेदवारको रूपमा चुनाव लडेका थिए । यद्यपि, उनलाई रिपब्लिकन र सेन्ट्रिस्ट (मध्यमार्गी) हरूको समर्थन छ।
रिपब्लिकन पार्टीका तर्फबाट कर्टिस सिल्वा उम्मेदवार रहे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै पार्टीका उम्मेदवारको समर्थन नगरी कुमोको समर्थन गरेका थिए र ममदानीलाई भोट नदिन आग्रह गरे। उनले ममदानीलाई ‘कम्युनिस्ट‘ र ‘अनुभवहीन‘ भन्दै आरोप लगाएका छन् ।
ट्रम्पले ममदानीले चुनाव जिते न्युयोर्कलाई दिइँदै आएको संघीय फन्डिङ रोक्ने चेतावनी दोहोर्याएका थिए । उनको भनाइमा, ममदानी मेयर बने न्युयोर्कका लागि त्यो ‘संकट र विनाशले भरिएको‘ समय हुनेछ।
नेपालमा पनि गत स्थानीय तहको निर्वाचनमा राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र उम्मेदवार बनेर बालेन शाह काठमाडौँ महानगरको मेयर बनेका छन् । बालेन पनि र्यापर हुन् ।






