Odapalika - The Fourth Estate - चौथो अंग
१३ नम्बर बन्यो अन्तर वडा फुटसल प्रतियोगिताको विजेता

काठमाडौं - तेस्रो प्रयोगराज सिंह सुवाल अन्तर वडा फुटसल प्रतियोगितामा वडा नम्बर १३ को टिम विजेता बनेको छ । लैनचौर फुटसल मैदानमा कार्तिक २२ गते देखि सुरु भएको खेलको फाइनलमा आज वडा नं. ४ लाई पेनाल्टी गोलबाट हराएर वडा १३ को टिम विजेता भएको हो ।

निर्धारित समयमा दुवै टिम ले गोल नगरे पछिको पेनाल्टीमा वडा नम्बर १३ ले २-० गोल अन्तरले उपाधि हासिल गरेको हो । उपाधिसँगै विजेता टोली वडा नं. १३ ले २ लाख रुपियाँ प्राप्त गर्‍यो । उपविजेता वडा नं. ४ ले १ लाख रुपियाँ पुरस्कार प्राप्त गर्‍यो । 

वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जन, खेलका संयोजक गोपाल नापितले विजेताहरूलाई पुरस्कार, ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए । प्रतियोगितामा २५ वटा वडा र महानगरपालिका केन्द्र गरेर २६ वटा टिम सहभागी थिए । प्रतियोगिता नकआउटका आधारमा खेलाइएको थियो ।

वडा नं. १३ का विकेश शाही सर्वाधिक गोलकर्ता बने । यस्तै वडा नम्बर १३ कै विशाल शाही उत्कृष्ट गोल रक्षक बने । वडा नम्बर ४ का विक्रान्तनरसिंह राणाले उत्कृष्ट खेलाडीको उपाधि पाए । उत्कृष्ट सबैलाई जनही १० हजार रुपियाँ नगदसहित मेडल र प्रमाण पत्र प्रदान गरियो । प्रतियोगिताको पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा १६ ले उपाधि जितेका थिए ।

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update