Odapalika - The Fourth Estate - चौथो अंग
केपी ओलीसँग एमालेको अध्यक्षमा भिड्ने ईश्वर पोखरेलको घोषणा

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् । बिहीबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकमा पोखरलले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गर्दै नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

बैठकमा पोखरेलले अध्यक्ष ओलीबाट अब पार्टी चल्न नसक्ने टिप्पणी गरेको स्रोत बताउँछ । “अध्यक्षको व्यवहार र कार्यशैली ठिक छैन । पछिल्लो बोली नेताको जस्तो छैन,” पोखरेलको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक पदाधिकारीले भने ।

पोखरेलले पार्टीभित्र स्वस्थ लोकतान्त्रिक अभ्यास हुनुपर्नेमा जोड दिँदै आफू पछि नहट्ने स्पष्ट पारेका छन्  । “प्रतिस्पर्धा हुँदा म अध्यक्षको उमेदवार हुँ, स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ,” पोखरेलले बैठकमा राखेको धारणा उद्धृत गर्दै ती पदाधिकारीले भने ।

जवाफमा ओलीले के भने ?
पोखरेललाई जवाफ दिँदै अध्यक्ष ओलीले पार्टीमा उमेदवार बन्ने स्वतन्त्रता सबैलाई रहेको बताएका थिए । उनले सकेसम्म सहमति र एकतामा जोड दिनुपर्ने तर लोकतान्त्रिक विधिबाट आउने नतिजालाई स्वीकार गर्नुपर्ने बताएको ती पदाधिकारी बताउँछन् ।

“अध्यक्षमा उठ्ने स्वतन्त्रता छ । मिल्नेसम्म एक भएर जानुपर्छ भन्ने कुरा अध्यक्षले राख्नुभएको छ,” ती पदाधिकारीले भने ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, अध्यक्ष ओलीले पार्टी पंक्ति र सिंगो देशले अहिले एमालेभित्र एकताको महाधिवेशन चाहेको बताएका थिए । ओलीले विगतमा प्रतिस्पर्धामा पराजित भएपछि नेताहरूले पार्टी छाड्ने गरेको दृष्टान्त सुनाउँदै त्यस्तो गल्ती नदोहोर्‍याउन आग्रह गरेका थिए ।

ओलीले आफू आठौँ महाधिवेशनमा पराजित हुँदा पनि पार्टी एकताका लागि खटेको स्मरण गराए । उनले माधव नेपाल र भीम रावललगायतका नेताहरूले पराजय वा असन्तुष्टिपछि पार्टी छोडेको र पार्टीलाई कमजोर बनाएको सन्दर्भ उल्लेख गरेका थिए ।

“माधव नेपाल, भीम रावलजस्तो स्थिति नबनोस् । स्वस्थ प्रतिस्पर्धा गरौँ, त्यसले फरक पार्दैन । तर, आन्दोलनको आवश्यकता सहकार्यका साथ अघि बढ्ने हो,” ओलीको भनाइ उद्धृत गर्दै उपमहासचिव ज्ञवालीले भने ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update