काठमाडौं- मन्त्रिपरिषद् बैठकले चुनढुंगा उत्खनन, ग्रेनाइट उत्खनन र फलाम उत्खननका लागि विभिन्न उद्योगलाई जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।
जसमा शक्ति मिनिरल्स प्रालिलाई चुनढुंगा उत्खनन कार्यको लागि पाल्पा जिल्ला माथागढी गाउँपालिका वडा नं ७ धनुषामा रहेको राष्ट्रिय वनको २१.४१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, विशक्ति होल्डिङ्गस प्रालिलाई चुनढुंगा उत्खनन कार्यका लागि चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं १३ मा रहेको राष्ट्रिय वनको २०.१४ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ।
यस्तै रिद्धि-सिद्धि सिमेन्ट लिमिटेडलाई चुनढुंगा उत्खनन कार्यको लागि मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका वडा नं ७ मा रहेको राष्ट्रिय वनको २१.६३ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, बाबा माइन्स एन्ड मिनिरल्स प्रालिलाई चुनढुंगा उत्खनन कार्यको लागि मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका बडा नं ५ मा रहेको राष्ट्रिय वनको ४.९९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ।
केके लाइम्स एन्ड इन्डस्ट्रिज प्रालिलाई चुनढुंगा उत्खनन कार्यको लागि उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं ८ मा रहेको राष्ट्रिय वनको २ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ। साथै बिग प्लस मिनिरल्स प्रालिलाई ग्रेनाइट उत्खनन कार्यको लागि मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं. ५ मा रहेको राष्ट्रिय वनको ४.४८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ।
अन्नपूर्ण मिनिरल्स प्रालिलाई फलाम उत्खनन कार्यको लागि मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. ६ मा रहेको राष्ट्रिय वनको ४.९६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ।
यस्तै सरकारले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गरेको छ। मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए।







