Odapalika - The Fourth Estate - चौथो अंग
मुख्यमन्त्री नै नआएपछि २ बजेको लागि सारियो मधेश प्रदेश सभा बैठक

काठमाडौँ । मधेश प्रदेश सभा बैठकको समय सारिएको छ । आज विहान साढे ८ बजेको लागि बोलाइएको बैठक दिउसो २ बजेको लागि सारिएको हो ।

आज प्रदेश सभामा मुख्यमनत्री सरोज कुमार यादवले विश्वासको मत लिने कार्यक्रम छ ।

तर, मुख्यमन्त्री यादवले २ बजे मात्र विश्वासको मत लिने अडान राखेपछि बैठक सारिएको हो ।

प्रदेश सभा सचिवालयले विश्वासको मत लिन बुधबार बिहान साढे ८ बजेका लागि बैठक बोलाएको थियो । ढिलो गरी बैठक सुरु गरे पनि मुख्यमन्त्री यादवसहित एमाले सांसदहरू बैठकमा उपस्थित नभएपछि बैठक उपसभामुख बबिता कुमारी राउत ईशरले दिउँसो २ बजेसम्मका लागि स्थगित गरेकी हुन् ।

मुख्यमन्त्री यादव अहिलेसम्म सभा हलमा आएका छैनन् । विपक्षी दलका सांसदहरु भने विहान साढे ८ बजेदेखि नै सभा हलमा आएर प्रतिक्षा गरिरहेका छन् ।

मुख्यमन्त्री यादवले दिउँसो २ बजे विश्वासको मत लिने वातावरण बनाइदिन प्रदेश सभा सचिवालयलाई पत्र पठाएका थिए । तर हिजो साँझ बसेको सर्वदलीय बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूले आज बिहान साढे ८ बजे प्रदेश सभा बैठक राख्ने सहमति गरेका थिए ।

मुख्यमन्त्री यादवकै अडान अनुसार आज दिउँसो दुई बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको हो।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update