काठमाडौं- नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गिएको छ ।
महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलका अनुसार ओखलढुङ्गा र धनकुटाबाहेक सबै भूगोल, गैरभूगोलको प्रतिनिधि छनोट सकिएको छ ।
उनले ती दुई जिल्लामा पनि चार दिनभित्रमा प्रतिनिधि निर्वाचन गरेर टुङ्ग्याउन निर्देशन दिएको जानकारी दिए । केही जिल्लामा प्रतिनिधि छनोट विधिअनुसार नभएकाले छानबिन भइरहेको उनको भनाइ छ ।
सचिव ढुङ्गेलले सबै जिल्लाबाट छनोट गरिएका प्रतिनिधि प्रदेश कमिटीको कार्यालयमा विवरण संकलन भइरहेको जानकारी दिए । ‘प्रतिनिधिका विवरण प्रदेश कमिटीमा महाधिवेशन शुल्कसहित संकलन भइरहेको छ’, उनले भने, ‘एक दुई दिनमा सबै प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा आउने छ र हामीले उक्त प्रतिनिधि कार्ड बनाएर वितरण गर्नेछौं ।’
महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन् । महाधिवेशनमा सहभागी हुने आयोजकलाई तीन हजार र प्रतिनिधिलाई दुई हजार शुल्क तोकिएको छ । एमालेको महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ ।







