काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बनाएको आफ्नै भवन नै मापदण्ड विपरित रहेको तथ्य खुलेको छ ।
महानगरले टेकुमा बनाएको वातावरण विभागको भवन मापदण्ड विपरित रहेको पाइएको हो । टेकुमा बनाइएको सो भवन विद्युतको हाइटेन्सन लाइनमुनी छ ।
टेकुको मापदण्ड विपरितको भवनमा महानगर प्रहरी बलको पश्चिम क्षेत्र शाखा बसिरहेको छ । यस्तै वातावरण विभाग पनि सोही भवनमा राखिएको छ ।
विद्युत ऐन २०४९ अनुसार विद्युत प्रसारण लाइनमुनी संरचना बनाउन पाइदैन । प्रसारण लाइनभन्दा १.२५ मिटरदेखि २ मिटरसम्म संरचना बनाउन नपाइने कानुनी व्यवस्था भएपनि महानगर आफैले ऐनको उल्लघन गरी ४ तले भवन बनाएको हो ।
महानगरले मापदण्ड विपरितका भवन तथा संरचना आफैले भत्काउन घरधनीलाई आग्रह गर्ने गरेको छ । तोकिएको समयमा अबैध संरचना नभत्काए महानगरले डोजर चलाएर भवन भत्काउने गरेको छ । तर, आफैले बनाएको मापदण्ड विपरितको भवन भने भत्काइएको छैन ।
महानगरका सहायक प्रवक्ता ध्रुबकुमार काफ्लेले टेकुको भवन मापदण्ड विपरित रहेकोले भत्काउन लागिएको बताए ।
‘सो भवनमा रहेका अधिकांश कार्यालयहरु सारिएको छ । मापदण्ड विपरित रहेकोले भवन भत्काउने तयारी भएको छ । भवन भत्काउनेको लागि टेण्डर पनि लागिसकेकोले छिट्टै भत्काइन्छ,’ काफ्लेले भने ।







