Odapalika - The Fourth Estate - चौथो अंग
सिएनआई र एसएसएफबीच समझदारी, श्रमिक र उद्योगीलाई कस्तो फाइदा होला ?

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिइनआइ) र सामाजिक सुरक्षा कोष (एसएसएफ) बीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

परिसंघ र कोषले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउन र श्रमिकलाई योजनामा आवद्ध गराउन प्रोत्साहन गर्न समझदारी गरेका हुन् ।

सोमबार परिसंघ सचिवालयमा परिसंघ र कोषले संयुक्त रूपमा आयोजना गरेको सामाजिक सुरक्षाबारे अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमपछि उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यस सहकार्य अन्तर्गत नेपाल उद्योग परिसंघले आफ्ना सदस्य उद्योगहरूलाई सामाजिक सुरक्षा योजनामा जोड्न सहयोग गर्न, देशभर सचेतना कार्यक्रम सञ्चालनमा गर्न, आवश्यक जानकारी उपलब्ध गराउन तथा श्रमिकका दीर्घकालीन हित सुनिश्चित गर्ने उद्देश्य रहेको छ ।

समझदारी पत्रमा परिसंघका तर्फबाट महानिर्देशक डा. घनश्याम ओझा तथा एसएसएफका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे ।

कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले यो सहकार्य श्रमिक र उद्योग दुवैका लागि अत्यन्त महत्त्वपूर्ण भएको बताए । उनले  उद्योगीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै, यो साझेदारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ व्यवहारिक र पहुँचयोग्य बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले सामाजिक सुरक्षा कोष श्रमिकको जीवन सहज र सुरक्षित बनाउने एक महत्वपूर्ण आधार भएको उल्लेख गर्दै, यस समझदारीले सबै क्षेत्रका श्रमिक र रोजगारदाताको सक्रिय सहभागिता अभिवृद्धी  गर्न र दर्ता प्रणालीमा समाहित हुन सहयोग गर्न महत्वपुर्ण भूमिका खेल्ने धारणा राखे ।

परिसंघका उपाध्यक्ष भीम घिमिरेले सामाजिक सुरक्षा कोष कल्याण कार्यक्रम मात्र नभएर मानव पुँजी विकासको मुख्य आधार रहेको बताए । परिसंघले यस्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम प्रदेश स्तरमा पनि बृहत कोषका कार्यकारी निर्देशक कविराज अधिकरीले सामाजिक सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउँदै लैजान र श्रमिकका सुविधाहरूलाई विस्तार गर्दै लैजान यो सहकार्य महत्वपूर्ण रहेको धारणा राखे ।

कार्यक्रममा सामाजिक सुरक्षा कोषका संचालक समितिका पूर्वसदस्य तथा परिसंघको रोजगारदाता परिषदका सभापति  धुव्र रिजाल, सामाजिक सुरक्षा कोषका संचालक समिति सदस्य तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र का अध्यक्ष जगत बहादुर सिँखडा लगायत अन्य आवद्ध महासंघका पदाधिकारीहरु, सामाजिक सुरक्षा कोषका प्रतिनिधिहरु, रोजगारदाता परिषदका सदस्यहरु, उद्योगी व्यवसायी प्रतिनिधिहरु लगायत उपस्थित थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update