Odapalika - The Fourth Estate - चौथो अंग
संसदको चुनाव लड्न स्थानीय सरकारको स्रोत प्रयोग, छिटो राजीनामा गर बालेन र हर्क

काठमाडौँ । फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्री बन्नको लागि २ जना बहालवाला मेयर सार्वजनिक घोषणा गरेर लागेका छन् ।

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रधानमन्त्री बन्ने दौडमा छन् ।

काठमाडौँका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी प्रधानमन्त्री बन्ने दौडमा सहभागी भएका हुन् । उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनी विजयी भएका थिए ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि प्रधानमन्त्री बन्ने भनेर मेयर बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच ७ बुँदे सम्झौता नै भएको छ ।

यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि प्रधानमन्त्री बन्ने दौडमा छन् । उनी पनि २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनी विजयी भएका थिए । साम्पाङ आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी स्थापना गरी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुँदैछन् । सो निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्री आफू बन्ने साम्पाङको भनाइ छ ।

दुबै मेयर सुशासन र भ्रष्टाचार नियन्त्रण गरी देश विकास गर्ने मुद्दालाई पहिलो प्राथमिकतामा राखेर चुनावी प्रतिस्पर्धामा तयार भएका छन् । तर, उनीहरु दुबै जना अहिले पनि स्थानीय सरकारको प्रमुख हुन् ।

अहिलेको कानुनी व्यवस्था अनुसार देशभरका मेयरहरुले राज्यकोषबाट मासिक तलब र गाडी सुविधा लिएका छन् । यसरी सुविधा लिनेमा मेयर बालेन र हर्क साम्पाङ पनि पर्छन् । स्थानीय सरकारहरुले मेयरका लागि खरिद गरेको गाडी स्थानीय स्रोत साधनबाट हो ।

तर, मेयर बालेन र साम्पाङ अहिले पनि स्थानीय सरकारले उपलब्ध गराएको तलब खाइरहेका छन् भने मेयरको हैसियतमा स्थानीय सरकारले उपलब्ध गराएको सवारी साधन प्रयोग गरिरहेका छन् । यस्तै, उनीहरु पछिल्लो समय राजनीतिक गतिविधिमा पूर्ण रुपमा व्यस्त हुँदा पनि नगरपालिकामा कार्यवाहको जिम्मेवारी कसैलाई दिएका छैनन् ।

धरान उपमहानगरपालिका उपमेयर अईन्द्र विक्रम बेघाले अहिलेसम्म आफूलाई कार्यवाहक मेयरको जिम्मेवारी नदिइएको बताए । यस्तै, काठमाडौं महानगरका मेयर बालेनले पनि उपमेयर सुनिता डंगोललाई कार्यवाहक दिएका छैनन् ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update