Odapalika - The Fourth Estate - चौथो अंग
पोखरा महानगरको गज्जव काम ! तरबुजाखेतीमा ५० प्रतिशत अनुदान

पोखरा । पोखरा महानगरपालिकाले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएको छ । 

पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको अवस्थामा यसलाई व्यावसायिक रूपमा अघि बढाउने गरी महानगर लागेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।

अघिल्लो वर्ष पोखरा महानगरपालिकाको वडा नं १३, १४, ३३ लगातयत स्थानमा झण्डै दुई सय रोपनीमा तरबुजाखेती गरिएकामा दुुई करोड रुपैयाँबराबरको कारोबार भएको उनको भनाइ छ ।

‘महानगरपालिकाले तरबुजाखेतीलाई व्यावसायिक रूपमा नै अघि बढाउने गरी अनुदानका कार्यक्रम पनि अघि बढाएको छ । यस वर्ष तरबुजाखेती गर्न चाहने किसानलाई बीउ र मल्चिङका लागि ५० प्रतिशत अनुदानको कार्यक्रम पनि राखिएको छ,’ कडरियाले भने ।

अघिल्लो वर्ष वडा नं १३ मा मात्रै करिब १०० रोपनी क्षेत्रमा तरबुुजाखेती गरिएको जानकारी दिँदै उनले तरबुजा उत्पादक र उपभोक्तालाई एकै ठाउँमा उपस्थित गराउनका लागि उक्त वडामा तरबुजा मेलासमेत सम्पन्न गरिएको बताए । उत्पादक किसानका लागि महानगरपालिकाले तरबुजाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ३५ रुपैयाँ तोकेको छ ।

महानगरपालिकाले समुदायसँगको सहकार्यमा यस वर्ष तरबुजाका विभिन्न प्रजातिको परीक्षणसमेत गर्न लागेको छ । पोखरामा विशेषतः सरस्वती जातको तरबुजा धेरै लगाउने गरिएको कडरियाले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update