Odapalika - The Fourth Estate - चौथो अंग
मेयर बालेनको राजीनामा माघ ६ गतेसम्मलाई होल्ड, यस्तो छ कारण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज राजीनामा नदिने भएका छन् ।

आज (माघ ४ गते) मेयर पदबाट राजीनामा दिएर उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्न लागेको बताइएको थियो । यस्तै, आज २ बजे हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को  केन्द्रीय समिति बैठकमा बालेन सहभागी हुने बताइएको थियो ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उनी झापा–५ बाट उम्मेदवार बन्ने चर्चा छ । यसको लागि सो क्षेत्रमा उनको सचिवालय स्थापना भइसकेको बताइएको छ ।

बालेनले मेयर पदबाट राजीनामा नदिएपछि उनी चुनाव लड्ने पूर्वनिर्णयबाट पछि हटेका हुन् ? भनेर हामीले उनको सचिवालयलाई सोधका छौं । तर, उनको सचिवालयले राजीनामा मात्रै ६ गतेसम्मको लागि होल्ड भएको बतायो ।

‘आज रास्वपा कार्यालय पनि जाने हो, प्रतिनिधिसभामा चुनाव पनि लड्ने हो, निर्वाचन आचारसंहितमा उम्मेदवार भएपछि स्वतः पद खारेज हुने व्यवस्था पनि रहेछ । राजनीतिक परिस्थिति पनि बदलिएको छ, त्यसैले ६ गतेसम्मको लागि राजीनामा मात्रै होल्ड गरिएको हो,’ सचिवालयले वडापालिकासँग भन्यो ।

फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनको लागि माघ ६ गते उम्मेदवारी दर्ता गराउनु पर्ने कार्यतालिका छ । माघ ५ गते सार्वजनिक विदा भएकोले मेयर बालेनले माघ ४ गते राजीनामा दिने तय भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १२:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update