Odapalika - The Fourth Estate - चौथो अंग
विद्यालय तहमा अनिवार्य र निःशुल्क शिक्षाको नमुना देखाइरहेको शिवराज नगरपालिकाले पढाउँदै छ अनिवार्य कोचिङ क्लास

काठमाडौँ । नेपालको संविधानले विद्यालय तहसम्मको शिक्षा निःशुल्क हुन्छ भनेको छ । तर, व्यवहारमा भने पैसा नतिरी छोराछोरी पढाउन पाइदैन ।

निजी क्षेत्रबाट संचालित बोर्डिङ स्कुलहरुमा महंगो मासिक शुल्क मात्रै होइन, भर्ना गर्नको लागि मोटो रकम बुझाउनु पर्छ । सामुदायिक विद्यालयहरुमा न्यूनतम शुल्क तिरे पुग्ने भएपनि राम्रो पढाइ नहुने चिन्ता अभिभावकलाई हुने गर्छ ।

तर, कपिलवस्तुको शिवराज नगरपालिका यो विषयमा भिन्न छ । नगरपालिकाले विद्यालय तहसम्म निःशुल्क मात्रै गरेको छैन, अनिवार्य पनि गरेको छ । अर्थात विद्यालय पढ्ने उमेरका बालबच्चालाई विद्यालय पठाउनै पर्छ, पैसा लाग्दैन ।

नगरपालिकाका उपसचिव पूर्णबहादुर विश्वकर्माले दिएको जानकारी अनुसार सो नगरपालिका क्षेत्रभित्र ११ वटा सामुदायिक विद्यालय छन् । नगरपालिका क्षेत्रका बालविकासदेखि कक्षा १२ सम्म निःशुल्क र अनिवार्य शिक्षा गरिएको उनले जानकारी दिए ।

‘हाम्रो नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा पढाउन कुनै शुल्क लाग्दैन । विद्यालय पढ्ने उमेर समुहका व्यक्तिहरुलाई विद्यालय पठाउनै पर्छ, यो अनिवार्य हो,’ उपसचिव विश्वकर्माले वडापालिकासँग भने ।

सो नगरपालिकाको मेयर अजय थापा छन् । थापाले मेयरको पदभार ग्रहण गर्दा अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यामिक शिक्षा लागू गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए ।

निःशुल्क शिक्षा कार्यान्वयनमा आउनुअघि अधिंकाश विद्यालयहरुले अभिभावकसँग सहयोग माग्ने, चन्दा लिने, भर्ना शुल्क तथा मासिक र परीक्षा शुल्क लिने गरेका थिए । यसैकारण गरीब, अतिविपन्न तथा सिमान्तकृत वर्गका बालबालिकाले विचमै विद्यालय छाड्ने गरेको तथ्य नगरपालिकासँग छ । यो कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ११ करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरपालिकाको छ ।

नगरपालिकाले अर्काे काम पनि गरिरहेको छ । सो नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा गत पुस ८ गतेदेखि कोचिङ कक्षा संचालनमा छ । आउन लागेको एसइइ परीक्षालाई ध्यानमा राखेर कोचिङ कक्षा सुरु गरिएको हो । ५ वटा अनिवार्य र एउटा ऐच्छिक विषयको कोचिङ कक्षा सुरु गरिएको हो । यो कोचिङ कक्षा पनि अनिवार्य र निःशुल्क हो ।

‘गत वर्ष पनि हामीले कोचिङ कक्षा संचालन गरेका थियौं । त्यसले एसइइको नतिजा सुधारमा सहयोग पुगेको देखियो । परीक्षामा कस्ता प्रकारका प्रश्नहरु आउन सक्छन्, कुन पाठबाट कति अंकभारको प्रश्न आउन सक्छ, प्रश्नलाई कसरी बुझ्ने, उत्तर कसरी लेख्ने भन्ने जस्ता प्राविधिक र व्यवहारिक जानकारीको लागि पनि यस्तो कोचिङ कक्षा उपयोगी भएको पाइयो । त्यसैले यसपालि पनि निरन्तरता दिएका छौं,’ उपसचिव विश्वकर्माले भने ।

कोचिङ कक्षा विहान ६ बजेदेखि सुरु हुन्छ । कोचिङ कक्षा संचालनको लागि नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यतिमात्रै होइन, नगरपालिकाले कमजोर विद्यार्थीको घरमै गएर पनि अभिभावकसँग छलफल गर्ने कार्यक्रम संचालन गरिरहेको छ । यसो गर्दा विद्यार्थीले भोग्नु परेका खास समस्याका बारेमा जानकारी प्राप्त हुने नगरपालिकाको भनाइ छ । यस्तै, विद्यार्थीलाई विषयविज्ञसँग भेटघाट कार्यक्रम पनि संचालन गर्ने गरिएको छ । उत्कृष्ट नतिजा ल्याउने विद्यालयका विषय शिक्षकलाई कमजोर विद्यालयका विद्यार्थीसँग भेटघाट गराई विद्यार्थीको मनोबल बढाउने प्रयास गरिएको उपसचिव विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update