शिवराज नगरपालिकाले भन्यो– तपाईंकै जग्गामा रुख रोप्नुस्, हामी पैसा दिन्छौं

 

काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिकाले निजी जग्गामा वृक्षारोपण गर्नेलाई लागतका आधारमा नगद अनुदान दिने भएको छ ।

बृक्षारोपण गरी नगरवासीको आय आर्जत बृद्धि गर्न नगरपालिकाले समृद्धिका लागि बन परियोजना संचालनमा ल्याएको हो । सो परियोजना अन्तरगत आफ्नो निजी जग्गामा १०० वटाभन्दा बढी रुप रोप्नेले लागतको ५० प्रतिशत अनुदान पाउने भएका हुन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षको लागि स्वीकृत वार्षिक कार्यक्रममा समृद्धिका लागि वन परियोजना अन्तर्गत निजी जग्गामा लैङ्गिक सुविधा सहितको वृक्षारोपण गर्ने कार्यक्रम छ । यसका लागि बृक्षारोपण/कृषिवन स्थापना अनुदान (महिला, दलित तथा विपन्न वर्गलाई प्राथमिकता) कार्यक्रम तय गरिएको छ । यो कार्यक्रममा किसान आफैले बहुउपयोगी विरुवा छनोट गरेर रोप्न सक्ने उनले जानकारी दिए ।

नगरपालिकाले ८ हेक्टर जमिनमा बृक्षारोपणको लक्ष्य राखेको छ । १०० वटा बोट विरुवा रोप्दा औसत लागत प्रतिविरुवा ३५ देखि ४० रुपैयाँ हुने देखिएको नगरपालिकाको भनाइ छ । यो लागत रकमको आधा रकम नगरपालिकाले अनुदानमा उपलब्ध गराउने हो ।

यसका लागि नगरपालिकाले प्रस्ताव समेत आव्हान गरिसकेको छ । चैत २ गते सार्वजनिक गरिएको आव्हानमा ३० दिनभित्रमा आवेदन दिइसक्न भनिएको छ ।

आवेदनको साथमा वृक्षारोपण गर्ने प्रजातिहरुको संख्या खुलाउनु पर्ने नगरपालिकाले जानकारी दिएको छ । यस्तै जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, मालपोत तिरेको रसिदको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि, कृषक समूह/कृषि सहकारी र कृषि फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि र समूह बैठकको निर्णयको प्रतिलिपि पनि आवश्यक पर्ने नगरपालिकाले जानकारी दिएको छ ।

यो कार्यक्रम संचालन गर्नको लागि नगरपालिकाले निर्देशिका नै तयार पारेको छ । निजी वृक्षारोपण गरे वापतको अनुदान रकम वृक्षारोपण अनुदान निर्देशिका बमोजिम स्वीकृत लागत अनुमानको पचास प्रतिशत भन्दा बढी हुने छैन । कार्यसम्पादनको आधारमा उपलब्ध गराइने यो रकम तीन वर्षमा भुक्तानी हुनेछ । वृक्षारोपण कार्यक्रमको अनुगमन प्रतिवेदन प्राप्त भए पश्चात पहिलो वर्ष ६० प्रतिशत, दोस्रो वर्ष २० प्रतिशत र तेस्रो वर्ष बाँकी २० प्रतिशत हुन आउने रकम सम्बन्धित निजी वन वा निजी जग्गा धनीलाई प्रदान गरिने नगरपालिकाले जानकारी दिएको छ । सो क्षेत्रमा विशेष गरी मसलाका विरुवा लगाउने गरिएको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update