Odapalika - The Fourth Estate - चौथो अंग
व्यवसायिक खेतीमा स्थानीय सरकारको सहयोग, पोखरा महानगर क्षेत्रमा ८ सय रोपनीमा तरबुजा खेती

पोखरा । पोखरा महानगरपालिकामा यस वर्ष करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती विस्तार हुने भएको छ ।    

पोखरा महानगरले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएसँगै खेती विस्तार हुँदै गएको हो । 

पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको बताउँदै महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसलाई व्यावसायिक रूपमा अघि बढाउने गरी लागिएको जानकारी दिए ।

‘तरबुजा खेतीप्रतिको आकर्षण बढ्दो छ । यस वर्ष पोखरा क्षेत्रमा करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती गर्न लागिएको छ,’ उनले भने ।

यस वर्ष ३०० रोपनी क्षेत्रफलका लागि किसानलाई बीउ अनुदानमा वितरण गरिएको जानकारी दिँदै कडरियाले अनुदानबाहेक पनि ठूलो क्षेत्रफलमा किसानहरूले आफैँले बीउ खरिद गरी तरबुजाखेती गर्न लागेको बताए । महानगरपालिकाले बिउ र मल्चिङमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ ।    

अघिल्लो वर्ष पोखरा महानगरपालिकाको वडा नम्बर १३, १४, ३३ लगायत स्थानमा झण्डै २०० रोपनीमा तरबुजाखेती गरिएकोमा २ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । किसानलाई यसतर्फको आकर्षण गराउन महानगरपालिकाले तरबुजा मेलासमेत गर्दै आएको छ ।  

उत्पादक किसानका लागि महानगरपालिकाले तरबुजाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ३५ रुपैयाँ तोकेको छ । पोखरामा विशेषतः सरस्वती जातको तरबुजा धेरै लगाउने गरिएको कडरियाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update