किन लाग्यो सपना श्रीमानको नामको अगाडि रातो गोलो घेरा ?

 

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को टीमले सरकार गठनको एक साता पनि नवित्दै उच्च पदमा आसिन सरकारी अधिकारीहरुको ट्रयाक रेकर्ड करिब तयार पारेको छ ।

नयाँ सरकार गठन भए लगत्तै सरकारको भावना अनुसार चल्न सक्ने कर्मचारीलाई नेतृत्वमा ल्याउनको लागि निजामती, प्रहरी र न्याय क्षेत्रका उच्च अधिकारीको ट्रयाक रेकर्ड तयार पारिएको हो । अहिले पदमा आशिन र नयाँ नियुक्तिबाट जिम्मेवारी दिनको लागि लाइनमा देखिएका व्यक्तिहरुको पनि ट्रयाक रेकर्ड तयार पारिएको स्रोतले जानकारी दियो ।

वडापालिकालाई प्राप्त जानकारी अनुसार न्यायक्षेत्रसँग सम्बन्धित र जानकार विज्ञ टीमले न्यायपालिकाको, निजामती सेवासँग जानकार र विज्ञ टीमले निजामती सेवाको र प्रहरीसँग जानकार र विज्ञ टीमले प्रहरी सेवाका अधिकारी तथा पदाधिकारीको ट्याक रेकर्ड तयार पारेर प्रधानमन्त्री बालेनलाई बुझाउने अन्तिम तयारी गरेको स्रोतको दाबी छ ।

‘निजामती र प्रहरीको हकमा तत्काल सरुवा गरेर नयाँ जिम्मेवारी दिने प्रयोजनको लागि पनि ट्रयाक रेकर्ड जरुरी भइसकेको छ । सर्वाेच्च अदालतमा त प्रधानन्यायाधीश पद नै रिक्त रहेकोले नयाँ नियुक्तिको लागि न्यायाधीशहरुको रेकर्ड अध्ययन हुन जरुरी नै थियो,’ स्रोतले भन्यो ।

नयाँ नियुक्तिमा वरिष्ठताका आधारमा जिम्मेवारी दिदा विवाद कम भएपनि अपेक्षा गरेअनुसारको नतिजा प्राप्त हुन सक्छ कि सक्दैन भन्ने पनि अध्ययन भएको छ । यस्तै, विगतमा राजनीतिक आग्रह र पूर्वाग्रहमा सहभागी भएका, विभिन्न प्रकारका विवाद र काण्डमा मुछिएका व्यक्तिहरुलाई नयाँ नियुक्ति दिदैनदिने गरी अघि बढ्ने योजना सरकारको छ ।

आजदेखि न्यायपालिकाको नेतृत्व रिक्त छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको कार्यकाल सकिएर उनी अवकाश भइसकेका छन् । वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ललाई कामु प्रधानन्यायाधीश बनाइएको छ । यसै सन्दर्भमा सपना प्रधान मल्लसहित सर्वाेच्चका अन्य न्यायाधीशहरुको ट्रयाक रेकर्ड पनि अध्ययन भएको स्रोतले जानकारी दियो ।

‘प्रधानन्यायाधीशको लागि न्याय परिषदले ५ जना न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा पठाइसकेको छ । ती ५ जनासहित सर्वाेच्चका अन्य न्यायाधीशहरुको ट्रयाक रेकर्ड पनि अध्ययन भइसकेको छ,’ स्रोतले भन्यो ।

स्रोतले दिएको जानकारी अनुसार अहिलेसम्मको अध्ययनमा ३ जना सिनियर न्यायाधीशको नामको अघि रातो रंगको गोलो घेरा लगाइएको छ । सर्वाेच्च अदालमा भएका न्यायाधीशरुमा १ नम्बरमा सपना प्रधान मल्ल, २ नम्बरमा कुमार रेग्मी र ३ नम्बरमा हरिप्रसाद फुयाल छन् ।

सपना प्रधान मल्ल संविधानसभामा एमालेबाट सभाषद बनेकी थिइन भने कुमार रेग्मी नेपाली कांग्रेसको कोटाबाट सर्वाेच्चको न्यायाधीश बनेका थिए । उनी पूर्वकानुन व्यवसायी हुन् । यस्तै, हरिप्रसाद फुयाल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेको समयमा महान्याधिवक्ता बनाइएका थिए । उनी एमालेको कोटाबाट सर्वाेच्चका न्यायाधीश बनेका हुन् ।

 

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update