काठमाडौँ । नेपाल राष्ट्र बैंकले नविल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानालाई करिब १३ लाख रुपैयाँ तिराएको छ ।
बैंकको सिइओ हुँदा करारनामामा उल्लेख गरेभन्दा बढी रकम लिएको भन्दै राष्ट्र बैंकले सो रकम तिराएको हो ।
राष्ट्र बैंक स्रोतका अनुसार ढुंगानालाई नविल बैंकले अघिल्लो कार्यकालमा मासिक ११ लाख रुपैयाँ तलब दिने सम्झौता गरेको थियो । र, उनको सो कार्यकाल सकिएपछि सो रकममा १० प्रतिशत थप गरेर पारिश्रमिक दिनेगरी अर्काे कार्यकालको लागि सिइओ नियुक्त गरिएको थियो ।
नेपाल राष्ट्र बैंकको निर्देशनमा सिइओलाई दिने सेवा सुविधा सम्झौतापत्रमा उल्लेख हुनुपर्ने भन्ने छ । तर, ढुंगानालाई थप गरिएको १० प्रतिशत रकमका बारेमा सम्झौतापत्रमा उल्लेख नगरिएको भन्दै राष्ट्र बैंकले रकम तिराएको हो
ढुंगाना नेपाल राष्ट्र बैंकको गभर्नरका लागि प्रतिस्पर्धा गर्न भन्दै गत वर्ष नविल बैंकबाट बाहिरिएका थिए । तर, तत्कालिन सरकारले ढुंगानालाई गभर्नर नबनाई डा. विश्वनाथ पौडेललाई गभर्नर बनाएको छ । पूर्वसिइओ ढुंगाना र अहिलेका गभर्नर डा. पौडेल गभर्नर बन्ने प्रतिस्पर्धामा थिए । ढुंगानालाई नेपाल राष्ट्र बैंक संचालक समिति बैठकले जरिवाना तिराएको हो । नेपाल राष्ट्र बैंकको संचालक समिति अध्यक्ष गभर्नर हुने कानुनी व्यवस्था छ ।



