काठमाडौँ । बाराको जीतपुरसिमरा वडा नं. १८ ले सो वडामा इन्टरनेट सेवा प्रदान गरिरहेका सबै सेवा प्रदायक (आइएसपी) हरुलाई छलफलका लागि वडामा बोलाएको छ ।
वडाध्यक्ष चतुरबाबु वाग्लेले सार्वजनिक सुचना प्रकाशित गरी सबै सेवा प्रदायकलाई जेठ २२ गते ११ बजे वडा कार्यालयमा उपस्थित हुन भनेका हुन् ।
यद्यपि, सो सुचना दोस्रो पटक प्रकाशन गरिएको हो । जेठ १२ गते पनि यो सुचना प्रकाशित गरिएको थियो ।
आइएसपीहरुले इन्टरनेट सेवा प्रदान गर्दा अव्यवस्थित रुपमा तारहरु छोडेको र सोका कारण दुर्घटना बढेकोले व्यस्थित गर्नको लागि छलफलमा बोलाइएको वडाध्यक्ष वाग्लेले जानकारी दिए ।
वडाले यसको लागि सुचना नै प्रकाशित गरेको छ ।
‘जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ मा बिगतदेखि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुका अव्यवस्थित तारहरुको कारणबाट दुर्घटना दिन प्रतिदिन बढ्दै गएको हुँदा यस जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ भित्र बिद्युत पोलबाट इन्टरेनट सेवा बिस्तार भएका तारहरुलाई व्यवस्थित गर्नको लागि तपसिलको मिति, समय र स्थानमा सम्पुर्ण कम्पनीका प्रतिनिधिहरु आधिकारिक पत्र सहित यस वडा कार्यालयमा छलफलको लागि उपस्थित हुने बिषयमा सूचना प्रकाशन गरिएको र कुनै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुका अप्रतिनिधिहरु उपस्थित नभएकोले पुन ३ (तीन) दिनभित्र अनिवार्य छलफलको लागि उपस्थित हुन सूचना जारी गरिएको व्यहोरा अनुरोध गरिन्छ,’ सुचनामा भनिएको छ ।
छलफलको लागि कार्यालयमा पुनः अनुपस्थित भएमा अव्यवस्थित तारहरुको हकमा कडा कदम चाल्न बाध्य हुने वडाको भनाइ छ ।





