काठमाडौँ । मोरङको धनपालथान गाउँपालिकाले कर्सिया बजार क्षेत्रका माछा र मासु व्यवसायीलाई छलफलमा बोलाएको छ ।
गाउँपालिकाका अध्यक्ष जीवछ प्रसाद गच्छदारले दिएको जानकारी अनुसार जेठ २१ गते विहीबार छलफलका लागि बोलाइएको हो ।
माछा र मासु व्यवसायीले स्थानीय गदिया खोलानालामा जथाभावी फोहोर गरेको भन्ने गुनासो आएकोले सो विषयमा छलफलका लागि बोलाइएको अध्यक्ष गच्छदारले जानकारी दिए ।
गाउँपालिकाले सार्वजनिक सुचना नै प्रकाशन गरी व्यवसायीलाई गाउँपालिकामा बोलाएको छ ।
‘हालका दिनहरूमा केही व्यक्ति तथा पसलहरूबाट कुखुराको फोहोर, प्वाँख तथा अन्य वस्तुहरू स्थानीय गदिया खोलानाला नजिक जथाभाभी फाल्ने गरेको र यसबाट वातावरण प्रदूषित हुनुका साथै जनस्वास्थ्यमा गम्भीर असर परेको भनी स्थानीयस्तरबाट व्यापक जनगुनासो प्राप्त भएको हुदा यस विषयलाई व्यवस्थित गर्न, बजारलाई स्वच्छ राख्न र आगामी रणनीति तय गर्नका लागि गाउँपालिकामा सम्पुर्ण माछा(मासु व्यवसायीहरूसँग एक आपतकालीन छलफल कार्यक्रम आयोजना गरिएको हुनाले तपशिलको स्थान, मिति र समयमा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ’, सुचनामा भनिएको छ ।
गाउँपालिकाले बजारको स्वच्छता र वातावरण संरक्षणमा सबैको साझा जिम्मेवारी रहेको भन्दै बैठकमा अनुपस्थित भई आगामी दिनमा तोकिएको मापदण्ड विपरीत फोहोर मैला गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने पनि स्पष्ट पारेको छ ।





