जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन कडा निर्देशन

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गाहरूमा गरिएका अनधिकृत अतिक्रमण र व्यापारिक सामग्रीहरू हटाउन कडा निर्देशन जारी गरेको छ।

उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले असार ३ गते सूचना जारी गर्दै आगामी असार १३ गते शनिबारसम्ममा त्यस्ता स्थानहरू अनिवार्य रूपमा खाली गर्न अल्टिमेटम दिएको हो।

सूचना अनुसार उपमहानगरपालिकाको वडा नं. २, सिमरा स्थित निम्न निकायहरूको हकभोग भित्र रहेका जग्गाहरू ९सिमरा कलेज रोडको उत्तर र रामजानकी मन्दिरको दक्षिणतर्फ० मा अतिक्रमण भएको पाइएको छ साथै साविक पिपरा सिमरा गा।वि।स। को जग्गा, साविक प्राथमिक स्वास्थ्य केन्द्र, सिमरा, साविक पशु सेवा केन्द्र, सिमरा, साविक कृषि सेवा केन्द्र, सिमरा, साविक कृषि बजार, सिमरा क्षेत्रमा अतिक्रमण भएको छ ।

ती स्थानहरूमा उपमहानगरपालिकाले कम्पाउण्ड तथा तारबार गरेको क्षेत्रभित्र समेत केही व्यक्तिहरूले ठेला, गाडा, खटिया लगायतका सामग्रीहरू राखेर व्यापार व्यवसाय सञ्चालन गरी जग्गा अतिक्रमण गरेको सूचनामा उल्लेख छ।

अटेर गरे कानुन बमोजिम सामान जफत र खर्च असुल गरिने

उपमहानगरपालिकाले तोकेको अवधि २०८३ असार १३ गते भित्र स्वतःस्फूर्त रूपमा सामग्रीहरू नहटाएमा कडा कानुनी कदम चालिने चेतावनी दिएको छ।

तोकिएको अवधिभित्र अनधिकृत सामग्रीहरू नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ (४) बमोजिम उपमहानगरपालिका आफैँले सामान जफत गर्नेछ र सो प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्तिबाटै असुल उपर गरिनेछ भनी सूचनामा स्पष्ट पारिएको छ।

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update