काठमाडौँ । रौतहट जिल्लाको राजापुर नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरलाई भ्रष्टाचारको मुद्दा लागेको छ ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा नं. ५ को जनता (नमुना) माविका प्रधानाध्यापकसँग मिलेर विद्यालय भवन बनाउँदा ११ लाख १० हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ ।
आयोगले दिएको जानकारी अनुसार सो विद्यालयका प्रधानाध्यापक विजयकान्त मिश्रसहितको मिलेमतोमा बढी मूल्यांकन गरे गराएर नगरपालिकाबाट भुक्तानी गराएर भ्रष्टाचार गरेका थिए ।
नगरपालिकाको मिति २०७५।११।०३ गतेको निर्णयानुसार राजपुर नगरपालिका वडा नं. ५ स्थितजनता (नमूना) माध्यमिक विद्यालयको नमूना विद्यालय विकास कार्यक्रमको लागि बहुवर्षीय गुरूयोजना स्वीकृत गरी सो विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा भौतिक संरचना निर्माण समिति गठन भएको थियो । लागत अनुमान ९७ लाख ३७ हजार ९९४ थियो । तर, उक्त निर्माण कार्यको लागि संशोधित लागत अनुमान १ करोड ५ लाख ७७ हजार ५९६ रुपैयाँ भनी विद्यालयमा गठन गरिएको भौतिक संरचना निर्माण समितिबाट भवन निर्माणको कार्य गरी गराई उक्त भवन निर्माण कार्यमा प्राविधिक बिल अनुसार जम्मा १ करोड ९ लाख ८१ हजार ५०१ रुपैयाँ रकम बराबरको मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई सो मूल्याङ्कित रकमलाई खर्च भैसकेको भनी लागत अनुमान बमोजिम नपुग रकम माग गर्ने र अन्तिम बिलमा मूल्याङ्कन हुन बाँकी रहेका कार्यको रकम माग गर्ने समेतको निर्णय भौतिक संरचना निर्माण समितिको बैठकबाट गरे गराएको देखिएको अख्तियारको भनाइ छ ।
आयोगबाट उक्त निर्माण कार्यको स्थलगत नापजाँच गर्दा ११ लाख १० हजार ११४ रुपैयाँ बराबरको बढी निर्माण कार्य भएको देखाई नभए नगरेको कार्य बापतको झुट्टा बिल, भरपाई बनाई बढी मूल्याङ्कन गरी गराई नेपाल सरकार र विद्यालयको कोषलाई गैरकानुनी हानि पुर्याउने बदनियतले भुक्तानी लिने दिने कार्य गरेको अख्तियारको भनाइ छ।
अख्तियारले नगरपालिकाका इन्जिनियर मोहम्मद शाह फैसल र जनता (नमूना) माध्यमिक विद्यालयका लेखापाल शेख जहिर विरुद्ध पनि ११ लाख १० हजार रुपैयाँ नै विगो कायम गरेर भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।





