काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
अध्यक्ष गुप्ताले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएको मिति २०७४ असार २० गतेदेखि मिति २०७९ असार २८ गतेसम्मको अवधिमा उनले ३ करोड ४५ लाख ९९ हजार १६७ रूपैयाँ ८४ पैसा अवैध आम्दानी गरेको अख्तियारको भनाइ छ ।
सो अवधिमा अध्यक्ष गुप्ता र उनको एकाघर परिवार/सगोलमा रहेको व्यक्तिहरूले उक्त अवधिमा विभिन्न आयका श्रोतहरूबाट कानुनी रुपमा ३ करोड ५१ लाख ५२ हजार ६२० रूपैयाँ ८८ पैसा आय आर्जन गरेको र सोही जाँच अवधिमा ६ करोड ९७ लाख ८१ हजार ७८८ रूपैयाँ ७३ पैसा व्यय खर्च तथा लगानी समेत गरेको देखिएको अख्तियारको भनाइ छ ।
उनको जाँच अवधिको कूल/समग्र आयबाट सोही जाँच अवधिको कूल व्यय (खर्च तथा लगानी समेत) घटाउँदा ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँ ४८ पैसाले कुल वैधानिक आय भन्दा कुल व्यय आधिक हुन गई स्रोत पुष्टि भएको नदेखिएको अख्तियारको दाबी छ ।





