७५ प्रतिशत अनुदानमा बर्सिम घाँसको बीउ वितरण गर्दै पाल्हीनन्दन गाउँपालिका

 

काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको पाल्हीनन्दन गाउँपालिकाले पशुपालक किसानलाई ७५ प्रतिशत अनुदानमा बर्सिम घाँसको बीउ वितरण गर्ने भएको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा घाँसको बीउ वितरण गर्न लागेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द केसीले दिएको जानकारी अनुसार पाल्हीनन्दनभित्र रहेका पशुपालक कृषक, कृषक समूह तथा व्यावसायिक फर्मलाई आवश्यक परिमाणमा बीउ माग गर्न सार्वजनिक सुचना नै प्रकाशन गरी आह्वान गरिएको छ ।

गाउँपालिकाले १५ दिनभित्र सम्बन्धित वडा कार्यालय तथा गाउँपालिकाको पशु सेवा शाखामा आवश्यक कागजातसहित बीउ माग गर्न गाउँपालिकाले आग्रह गरेको छ। गाउँपालिकाले असोज ७ गते सुचना प्रकाशित गरेको हो ।

बीउ माग गर्दा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, लालपुर्जा तथा तिरो तिरेको रसिदको प्रतिलिपि, व्यावसायिक फर्मको प्रमाणपत्र तथा कृषक समूहको दर्तारनवीकरण प्रमाणपत्र पेश गर्नुपर्नेछ।

त्यस्तै, समूहको हकमा निर्णयसहितको प्रतिलिपि तथा सहकारी र फर्मको हकमा प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले उपलब्ध गराएको निर्धारित ढाँचामा निवेदनसमेत पेश गर्नुपर्नेछ।

गाउँपालिकाका अनुसार कार्यक्रममार्फत पशुपालक किसानलाई घाँस उत्पादनमा प्रोत्साहन गर्दै पशु आहारको व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ।

 

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update